Techie IT
Samayabaddha
बुधबार, २१ जेठ, २०८२

आज जेठ १९ गते, इतिहासमा कहिल्यै नमेटिने एउटा कालो दिन !


२०५८ साल जेठ १९ गते नेपालको इतिहासमा कहिल्यै नमेटिने एउटा कालो दिनको रुपमा नेपालीहरुको स्मृतिमा बसिरहेको छ । करिब पाँच हजार नेपाली सेनाको सुरक्षा घेराभित्र राजा विरेन्द्र र उनका सम्पूर्ण परिवारसहित राजपरिवार नौ जना सदस्यहरूको हत्याले केवल नेपालीहरुको बीचमा मात्र होइन् सम्पूर्ण विश्वलाई चकित बनाएको थियो ।

आज पनि प्रत्येक वर्षको जेठ १९ गते नेपाली जनमानसमा त्यो बर्बरता र पीडाको स्मृति ताजा हुन्छ ।

घटनाको पृष्ठभूमि

२०५८ सालतिर नेपालको राजनीति संक्रमणको बीचबाट गुज्रिरहेको थियो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनबाट बहुदलीय व्यवस्था आएको भए तापनि राजसंस्था बलियो रूपमा टिकिरहेको थियो । राजा वीरेन्द्र लामो समयदेखि सत्ता सम्हाल्दै आएका थिए । उनी देशमा लोकप्रिय पनि थिए । देशमा एकातिर माओवादी जनयुद्ध चर्किरहेको थियो भने अर्काेतिर वहुदलीय व्यवस्था शासकीय अस्थिरताले असहज अवस्थामा थियो । माओवादी जनयुद्धलाई दबाउन सरकारले सेना परिचालनको कोसिस गरिरहेको थियो तर विरेन्द्रले सेना परिचालनलाई अस्वीकार गर्दै आएका थिए । प्रहरी फोर्सलाई माओवादीले सजिलै पराजित गर्दै आइरहेका थिए ।

यस्तै यस्तै पृष्ठभूमिमा, जेठ १९ गते शुक्रवार साँझ, नारायणहिटी दरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रले आफ्ना परिवारजनलाई भोजमा बोलाएका थिए । यो सामान्य पारिवारिक जमघट थियो । तर त्यस जमघटमा उनका माइला भाई पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी थिएनन् । त्यो रात भोज रमाइलोमा परिणत हुनुभन्दा अघि नै, नेपालको इतिहासमा नै सबैभन्दा भयावह घटना घट्न पुग्यो । पूर्व राजा ज्ञानेन्द्र शाहका सम्पूर्ण परिवार त्यो हत्याकाण्डमा पूर्ण रुपमा बाँच्न सफल भयो ।

हत्याकाण्डको विवरण

साँझ करिब ८ बजेपछि, भोज चलिरहेको बेलामा एकजना अपरिचित बन्दूकधारीले दरबारमा अन्धाधुन्ध गोली चलाएको खबर बाहिरियो । तर पछि जानकारी अनुसार, बन्दूकधारी अरु कोही नभएर युवराज दीपेन्द्र नै भएको आरोप लगाइयो । उनले अत्याधुनिक हतियारहरू प्रयोग गरेर राजा वीरेन्द्र, रानी ऐश्वर्य, आफ्ना भाइ–बहिनी, काका र अन्य नातेदारहरूको हत्या गरिसकेपछि आफ्नो कन्चटमा गोली हानेको भनियो । यसको कहीं कतैबाट पुष्टि हुन सक्ने आधार थिएन् । तत्कालिन सभामुख तारानाथ रानाभाट नेतृत्व छानबिन आयोग गठन गरियो तर त्यसले स्वतन्त्र छानविन सक्ने अवस्था थिएन् । दरबारले नै तयार पारिदिएको प्रतिवेदन उनले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे जुन जनताले विश्वास गर्ने आधार थिएन । त्यसपछि उनको राजनीतिक क्यारियर नै समाप्त भयो ।
गोली लागेर कोमामा रहेका दिपेन्द्रलाई अचेत अवस्थामा राजा घोषणा गरियो तर ३ दिनपछि उनको मृत्यु भएको घोषणा गरियो त्यसपछि राजा वीरेन्द्रका जीवित रहेका एकमात्र भाइ ज्ञानेन्द्र शाहलाई राजा हुने बाटो खुल्ला भयो ।

घटनाको मुख्य कारण दिपेन्द्रले देवयानी राणासँग विवाह गर्न गरेको प्रस्तावमा मुख्य गरी रानी ऐश्वर्यले अस्वीकार गरेको भनिएको थियो । यही कारण दीपेन्द्रले अत्याधिक क्रोधित भई नशालु पदार्थ पिई हत्याकाण्ड घटाएको भनिएको थियो ।

तर यो निष्कर्षले जनताको मन बुझाउन सकेन । अनुसन्धान नाम मात्रको थियो । धेरैजसो नेपाली जनताले दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको संलग्नता भएको विश्वास गरे । घटनास्थलका प्रत्यक्षदर्शीहरू सार्वजनिक भएनन्, सीसीटीभी फुटेज लुकाइयो, तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई छाउनी हस्पिटल पुग्दा भित्र छिर्न दिइएन । यिनै कारणले गर्दा यो घटना रहस्यमय बनिरह्यो ।

राजनीतिले लिएको अर्काे मोड

यो घटनाले नेपालको समग्र शासन व्यवस्थामै गहिरो प्रभाव पारयो । राजा वीरेन्द्रको लोकप्रियता अत्यधिक थियो, उनको मृत्युपछि राजसंस्थाप्रति जनताको विश्वास कमजोर हुन थाल्यो । राजा ज्ञानेन्द्रको शासनकाल विवादास्पद रह्यो । राजा ज्ञानेन्द्रले आफू शासनसत्तामा आएपछि अधिनायकवादको कोशिश गरे । यसकै कारण विद्रोही माओवादी र संसदीय राजनीतिमा रहेका सात दल बीच सहकार्य हुनपुग्यो र २०६२–६३ को दोस्रो जनआन्दोलन मार्फत २०६५ मा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना गरियो । दोस्रो जनआन्दोलनपछि विद्रोही शक्ति नेकपा माओवादी पनि शान्तिपूर्ण राजनीतिमा आयो ।

२०६४ मा नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन भयो । पहिलो संविधान सभाले संविधान बनाउन सकेन र विघटन भयो । दोस्रो संविधान सभा मार्फत २०७२ सालमा संघीयतासहितको नेपालको संविधान जारी भयो ।
राजदरबार हत्याकाण्ड यो राजनीतिक परिवर्तनको एक महत्वपूर्ण कारण हो । यही घटनाले नेपालमा राजतन्त्रको अन्त्यको बीज रोप्यो ।

त्यसैले जेठ १९ कुनै साधारण मिति होइन । यो एक यस्तो कालो दिन हो, जुन पुस्तौं पुस्ताले स्मरण गरिरहनेछ । तर एउटा प्रश्न भने अहिलेपनि नयाँ पुस्ताहरुको मन मस्तिष्क उब्जिरहेको छ गणतन्त्रपछि निर्माण भएका कुनै पनि सरकारहले यसको स्वतन्त्र छानविन किन गरेन ?


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट