ट्रम्पको कर धम्कीपछि चीनको प्रतिक्रिया ः ‘ब्रिक्स टकराव होइन, सहकार्य चाहन्छ’

बेइजिङ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूसँग मिल्ने देशहरूमाथि १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएपछि चीनले यसको कडा प्रतिक्रिया दिएको छ । चीनले ब्रिक्स समूह कुनै पनि टकरावको पक्षमा नरहेको र यो उदीयमान तथा विकासशील मुलुकहरूको सहकार्यका लागि बनेको मञ्च मात्र भएको स्पष्ट पारेको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पको भनाइप्रति आपत्ति जनाउँदै ब्रिक्स राष्ट्रहरूको उद्देश्य र मूल भावना प्रष्ट पार्ने काम गरिन् । उनले भनिन्, “ब्रिक्स टकरावको पक्षमा छैन, यसले कुनै पनि देशलाई लक्षित गरेर काम गर्दैन । यसको मूल उद्देश्य खुलापन, समावेशिता र आपसी जित–जितको सहकार्यमा आधारित छ ।”
माओले थप स्पष्ट पारिन् कि चीनले व्यापार तथा भन्सार शुल्कबारे आफ्नो अडान बारम्बार स्पष्ट पारिसकेको छः “भन्सार शुल्क र व्यापार युद्धको कुनै विजेता हुँदैन,” उनले भनिन्, “संरक्षणवादले विश्व अर्थतन्त्रलाई क्षति र्पुयाउँछ, त्यसले कुनै पनि मुलुकको दीर्घकालीन हितमा काम गर्दैन ।”
ट्रम्पले व्यापारिक साझेदारहरूलाई सम्झौतामा पुग्नका लागि आफ्नो समयसीमा समाप्त हुनुभन्दा केही दिनअघि सोमबार विभिन्न देशहरूलाई पहिलो भन्सार शुल्क पत्र पठाउने बताएका छन् ।
यदि देशहरूले सम्झौता गर्न असफल भए भने आयातमा अमेरिकी कर अप्रिलमा निर्धारित उच्च स्तरमा फर्कने चेतावनी दिँदै उनले आइतबार १५ वटा पत्रको पहिलो ब्याच पठाउने बताएका थिए ।
आफ्नो टु्रथ सोसल नेटवर्कको एक पोस्टमा राष्ट्रपति ट्रम्पले आइतबार ब्रिक्स समूहका सदस्य राष्ट्रहरू र ती देशहरूसँग मिल्ने उदीयमान अर्थतन्त्रहरूलाई लक्षित गर्दै करको चेतावनी दिएका थिए । उनले रियो डि जेनेरियोमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा आफ्नो
नीतिको आलोचना भएको भन्दै ती देशहरू ‘अमेरिकाविरोधी’ भएको आरोप लगाए ।
ट्रम्पले भन्सार शुल्क सम्बन्धी पहिलो चरणको पत्र यसै साता पठाउने बताउँदै यदि ती देशहरू अमेरिकासँग व्यापार सम्झौतामा सहमत भएनन् भने अप्रिलदेखि उच्च कर दर लागू गर्ने चेतावनी पनि दिएका छन् ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूह दुई दशकअघि तीव्र गतिमा विकासरत अर्थतन्त्रहरूबीच आपसी सहकार्य विस्तार गर्ने लक्ष्यसहित स्थापना गरिएको हो । पछिल्ला वर्षहरूमा यस समूहमा इरान, इजिप्ट, इथियोपिया, युएईजस्ता नयाँ सदस्यहरू पनि जोडिएका छन् । अमेरिका र पश्चिमी युरोपका कतिपय विश्लेषकहरू ब्रिक्सलाई चीनद्वारा नेतृत्व गरिएको अमेरिका र पश्चिमको प्रतिसन्तुलनको प्रयासका रूपमा व्याख्या गर्छन् ।
तर बेइजिङको भनाइमा ब्रिक्स न त कुनै प्रतिस्पर्धी गुट हो, न त कुनै सत्ता संघर्षको माध्यम । चीनले यसलाई विश्वका विकासशील राष्ट्रहरूबीच सहकार्य र साझा समृद्धिको नयाँ ढोका खुलाउने मञ्चका रूपमा प्रस्तुत गर्दै आएको छ ।
डोनाल्ड ट्रम्पको नयाँ कर धम्कीले ब्रिक्स समूह र त्यससँग सहकार्य गरिरहेका देशहरूबीचको सम्बन्धलाई पुनः तनावपूर्ण मोडमा लैजाने संकेत दिएको छ । यद्यपि चीनले संयमित प्रतिक्रिया दिँदै ब्रिक्सलाई सहयोगको मञ्चका रूपमा बचाउ गरेको छ । विश्व राजनीतिको यो नयाँ घुम्तीले आगामी दिनमा विश्व व्यापार, कूटनीति र शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने चासो थप बढेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया