Techie IT
Samayabaddha
शनिबार, २८ असार, २०८२

सुस्त गतिको रोपाईले उत्पादन घट्ने संभावना, असार सकिन लाग्दा देशभर ४५ प्रतिशत मात्र रोपाइ


काठमाडौँ । समय अनुसार वर्षा नभएको र जलस्रोत व्यवस्थापनमा देखिएको कमजोरीका कारण यस वर्षको धान रोपाइँ सिजन सुस्त गतिमा अघि बढिरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ४५.०३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । यो तथ्याङ्कले नेपाली कृषि प्रणाली अझैपनि मौसमी अनिश्चितता र पूर्वाधार अभावको गहिरो असरमा रहेको स्पष्ट देखाउँछ ।

मन्त्रालयका अनुसार २०८२ सालको असार २३ गतेसम्म कुल १३ लाख ८३ हजार ७३२ हेक्टर धान रोपाइयोग्य जमिनमध्ये केवल ६ लाख २३ हजार १०४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको हो । यद्यपि यो अघिल्लो वर्षको यिनै अवधिको ४३.५ प्रतिशतभन्दा केही बढी हो, तर सन्तोषजनक भने पक्कै होइन ।

प्रदेशगत विभाजनः सुदूरपश्चिम अगाडि, मधेश र कोशी पछाडि

धान रोपाइँमा क्षेत्रीय असमानता निकै स्पष्ट देखिन्छ । सुदूरपश्चिम प्रदेशले ८२.८४ प्रतिशत रोपाइँ सम्पन्न गर्दै अग्रस्थान लिएको छ । त्यहाँ कुल १ लाख ७६ हजार १५१ हेक्टर रोपाइयोग्य जमिनमध्ये १ लाख ४५ हजार ९३२ हेक्टरमा धान रोपिएको छ ।
यो तथ्यले देखाउँछ कि परम्परागत खेती प्रणालीमा आधारित सुदूरपश्चिममा अझैपनि धान खेती प्राथमिक कृषिकर्मको रूपमा कायम छ र मौसमी अवस्थाले यहाँ सहयोग पु¥याएको अनुमान गर्न सकिन्छ ।

कर्णाली प्रदेशले पनि ७१.६६ प्रतिशतको दरमा उल्लेखनीय प्रगति गरेको छ, जुन तुलनात्मक रूपमा दुर्गम र विपन्न मानिने प्रदेशका लागि सकारात्मक संकेत हो ।

लुम्बिनी ५२.११ प्रतिशत, गण्डकी ५५.५९ प्रतिशत र बाग्मती ५१.९५ प्रतिशत प्रदेशहरूमा पनि आधाभन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ । यी प्रदेशहरूमा सिँचाइ पूर्वाधार, श्रम पहुँच र खेतीयोग्य भू–भागको पहुँच केही राम्रो छ ।

तर देशका दुई प्रमुख तराईमुखी कृषि प्रदेश मधेश र कोशीमा भने अवस्था चिन्ताजनक छ । मधेशमा २५.०८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ भने कोशी प्रदेशमा अझै पनि २९.५४ प्रतिशतमै सीमित छ । कोशीमा कुल २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये केवल ८१ हजार ६३४ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

मौसमीय अनिश्चितता र सिँचाइ समस्या

मौसमविद्हरूका अनुसार यस वर्ष मनसुन ढिलो सुरु भएको छ । केही क्षेत्रमा असारको मध्यसम्म पनि पर्याप्त वर्षा नभएकाले रोपाइँ कार्य पछि धकेलिएको हो । जलवायु परिवर्तनका असरले गर्दा परम्परागत खेती चक्रमा गम्भीर असर परेको स्पष्ट देखिन्छ ।

अर्कोतर्फ, सिँचाइ पूर्वाधार नहुँदा कृषकहरू वर्षामा भर पर्ने बाध्यताबाट मुक्त हुन सकेका छैनन्। मधेश र कोशी प्रदेशमा ठूला सिँचाइ आयोजनाहरू भए पनि तिनीहरूको पूर्ण क्षमतामा सञ्चालन नहुनु, नहरहरूको असमय मर्मत, जल बँडफाँटको अव्यवस्था जस्ता समस्याले खेती अवरुद्ध बनाएको छ।

कृषि श्रमिकको अभाव र चक्रव्यूह

धान रोपाइँ सिजन श्रमकेन्द्रित खेती प्रणालीमा आधारित हुने भए पनि पछिल्लो समय कृषि श्रमिकको अभावले रोपाइँमा थप चुनौती थपिएको छ । विशेषगरी मधेश क्षेत्रमा वैदेशिक रोजगारतर्फ आकर्षण बढेसँगै श्रमिक अभाव झनै तीव्र देखिएको हो । स्थानीय श्रम स्रोतले माग धान्न नसक्दा रोपाइँ ढिलिएको कृषि विज्ञहरू बताउँछन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । रोपाइँमा भएको ढिलाइले दीर्घकालीन रूपमा उत्पादन घटाउने सम्भावना प्रबल छ । यो स्थिति अझै सुधार भएन भने चामल आयात बढ्ने र कृषकहरूको आयमा प्रत्यक्ष असर पर्ने निश्चितप्रायः देखिन्छ ।

यो वर्षको रोपाइँ अवस्थाले कृषि नीति र कार्यान्वयन क्षमतामा पुनः विचार गर्नुपर्ने खाँचो देखिएको छ । हरेक वर्षको मनसुनपछिको समस्याबाट उन्मुक्ति पाउन दीर्घकालीन सिँचाइ योजना, जल व्यवस्थापन प्रणाली, जलवायु स्मार्ट कृषि अभ्यास र स्थानीय अनुकूल
बीउ प्रविधिको प्रवद्र्धन गर्न अब ढिला गर्नु हुँदैन ।

प्रादेशिक सरकारहरू, स्थानीय तहहरू र केन्द्रबीच समन्वय गरी हरेक प्रदेशको भूगोल र आवश्यकता अनुसार कृषि पूर्वाधार विकासको दीर्घकालीन खाका तयार पार्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट