समयमै विवाह गरी सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या विकास र व्यवस्थापनलाई राष्ट्रिय एजेन्डाको रुपमा अघि बढाउनु आवश्यक रहेको बताउँदै सबै युवा युवतीहरुले समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले “मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्ने” बताए । प्रधानमन्त्री ओलीले भनें– “सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्काे छैन, कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड । जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनुहुँदैन ।”
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मिन आग्रह गरे ।
उनले आधुनिक सभ्यता र व्यक्तिगत स्वार्थमा अल्मलिएर मानिसहरूले परिवार विस्तार र सन्तान जन्मको विषयलाई बेवास्ता गरिरहेको उल्लेख गर्दै समयमै विवाह र सन्तान उत्पादनतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । ओलीका अनुसार मानव सभ्यता जोगाउन सन्तुलित जनसंख्या अपरिहार्य छ ।
प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति समानान्तर हुनु आवश्यक रहेको बताए । ओलेले भने– ‘यदि विकासतर्फ हामी अघि बढ्यौं, तर जनसंख्या शून्यतर्फ गयो भने त्यो विकास आफैं संकटमा पर्छ । मानिस नै नभएपछि त्यो विकासको अर्थ के रहन्छ ?’
उनले थपे, ‘मानव जातिको अस्तित्व नै सन्तानबाट सुनिश्चित हुन्छ । मानिसका कारण देश र धर्तीको अर्थ बनेको हो । त्यसैले, मानव अस्तित्वकै रक्षा गर्न समयमै विवाह, सन्तान जन्म र उत्तरदायित्वमा लाग्न सबै नागरिकको भूमिका जरुरी छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लो समय समाजमा फैलिएको ‘सन्तान नभए पनि हुन्छ’ भन्ने धारणाप्रति गम्भीर चिन्ता व्यक्त गरे । ओलीले ‘सन्तानले डाँडाकाँडा ढाकून्’ जस्ता सन्देशबाट मानिसहरूमा अनावश्यक दबाव परेको र उल्टो प्रभावस्वरूप धेरै दम्पती सन्तान नपाउने निर्णयमा पुगिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले विश्वमा कतिपय विकसित देशहरूमा जनसंख्या ऋणात्मक बन्दै गएकाले त्यो स्थिति नेपालजस्ता देशहरूले पनि गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
ओलीले विकसित देशहरुलाई चेतावनी शैलीमा भने, “केवल सेमिनार र गोष्ठी गरेर मात्र जनसंख्या नीतिको कार्यान्वयन हुँदैन । एकातिर जनसंख्या घटाउने सन्देश, अर्काेतिर आणविक हतियार बनाएर मानव नाश गर्ने दौड – यस्तो दोहोरो चरित्रले मानव सभ्यता जोगिदैन ।”
उनको अनुसार, अहिलेको आवश्यकता भनेको जनसंख्याको सन्तुलन र त्यसको दीर्घकालीन व्यवस्थापन हो, जसका लागि सरकारले “राष्ट्रिय जनसंख्या नीति, २०८२” कार्यान्वयनमा लाग्ने छ ।
कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले जनसंख्यालाई संकट होइन, स्रोतको रूपमा लिनुपर्ने बताएका छन् ।
जनसंख्याको दिगो र सन्तुलित विकास नीतिमा प्रतिबद्धता, सचेतना र व्यवहारिकता जरुरी रहेको सन्देश कार्यक्रमले दिएको छ ।
नेपालले अब ‘मानव संसाधन’ लाई मात्र नभई, ‘मानव अस्तित्व’लाई पनि प्राथमिकतामा राखेर नीति बनाउने दिशामा अग्रसर हुनु आवश्यक देखिन्छ । यस दिशामा प्रधानमन्त्रीको आग्रह एउटा राजनीतिक अभिव्यक्तिको रूपमा मात्र नभई, राष्ट्रिय नीतिको रुपमा लिइनु आवश्यक छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया