कैलाश मानसरोवर यात्रामा बाधा ः मितेरी पुल बगाउँदा नेपाली तीर्थयात्री समस्यामा

नेपाल–चीन सीमास्थित रसुवागढीमा रहेको मितेरी पुल यही असार २४ गते आएको बाढीले बगाएपछि यो नाकाबाट हुँदै आएको चीनसँगको नेपाल व्यापार सम्बन्ध मात्र होइन कैलाश मानसरोवर यात्रामा जाने तीर्थयात्रीहरुलाई समेत गम्भीर समस्या पैदा भएको छ । हिमालयको छेउछाउमा रहेका तीर्थस्थलहरूमध्ये अत्यन्त पवित्र मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौं धार्मिक पर्यटकले गर्ने गर्छन् ।
यो यात्रा सामान्य धार्मिक यात्राभन्दा बढी कूटनीतिक, पर्यटकीय र स्थानीय व्यापारिक महत्व बोकेको यात्रा पनि हो । तर हालै लेहेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि, त्यसको प्रत्यक्ष असर ती यात्रुहरूमा परेको छ । नेपालका पर्यटन व्यवसायीहरु पनि कैलाश मानसरोबरको यात्रा गर्ने समयमा आएको यो प्राकृतिक प्रकोपले आफूहरुको व्यवसायलाई गम्भीर असर पु¥याएको बताउँछन् ।
मितेरी पुल नेपाल र चीन (तिब्बत) सँग सीमा जोड्ने प्रमुख स्थलहरूमध्ये एक हो । यही पुलबाट नेपाली तथा विदेशी तीर्थयात्रीहरू चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गरी कैलाश मानसरोवर यात्रामा निस्किन्थे ।
पुल बगाएपछि यात्राको मार्ग अवरुद्ध भएको छ । अहिले चीन प्रवेश गर्न नसकेपछि काठमाडौँ र आसपासका क्षेत्रहरूमा सयौं तीर्थयात्रीहरू रोकिएका छन् ।
नेपालका पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) ले एक विज्ञप्ति जारी गरी मितेरी पुल बगाएपछि तीर्थयात्रीहरू बीच बाटोमै अल्झिएको जानकारी दिएका छन् । विज्ञप्तिमा टानका अध्यक्ष सागर पाण्डेले “मानसरोवर यात्रा गर्ने सिजनको ठयाक्कै प्रारम्भमा यस्तो समस्या आउँदा पर्यटकीय र धार्मिक गतिविधिमा प्रतिकूल असर परेको” बताएका छन् । उनले नेपाल सरकारसँग वैकल्पिक नाकाहरू प्रयोग गर्न कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा टानले नेपाल सरकारलाई तत्काल चीन सरकारसँग समन्वय गरी वैकल्पिक नाकाहरू खोल्ने वातावरण मिलाउन आग्रह गरेको छ । विशेषगरी तातोपानी, कोरोला, हिल्सा जस्ता नाका खोल्दा मानसरोवर यात्रा जारी राख्न सकिने अपेक्षा टानले सरकारसँग गरेको छ ।
यात्रुहरूका लागि मार्ग अवरुद्ध हुनु मात्र समस्या होइन, राहदानी र भिसा प्रक्रिया पनि अर्काे चुनौती हो । अध्यक्ष पाण्डेले चिनियाँ दूतावाससँग मिलेर राहदानी वितरण तथा भिसा प्रक्रिया छिटो र सहज बनाउने पहल गर्न पनि सरकारसँग माग गरेका छन् ।
टानले नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयलाई सक्रिय कूटनीतिक पहल गर्न र काठमाडौंमा रोकिएका तीर्थयात्रीहरूलाई यथाशीघ्र चीन प्रवेशको वातावरण बनाउन आग्रह गरेको छ । अध्यक्ष पाण्डेले भने, “हामी कूटनीतिक तहमा दवाव सिर्जना गरिरहेका छौं । परराष्ट्र मन्त्रालयले छिटो प्रतिक्रिया नदिए धार्मिक पर्यटनमा प्रतिकूल असर पर्न सक्छ ।”
कैलाश मानसरोवर यात्रा धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको यात्रा हो । यस यात्रामा सहभागी तीर्थयात्रीहरूले तिब्बतको कैलाश पर्वतलाई भगवान शिवको निवासस्थल मानेर पूजा अर्चना गर्ने गर्दछन् ।
धार्मिक पर्यटक मात्र होइन, नेपालको पर्यटन उद्योगमा संलग्न ट्राभल एजेन्सी, गाइड, होटल व्यवसायीहरू पनि प्रभावित भएका छन् । काठमाण्डौदेखि रसुवा हुँदै तिब्बत प्रवेश गर्ने मार्ग निकै लोकप्रिय बनेको थियो । त्यही मार्ग अहिले अवरुद्ध भएको छ ।
यस्ता प्राकृतिक प्रकोपहरूमा पूर्व तयारी र विकल्प तयारी अपरिहार्य हुन्छ । तर सरकारसँग यसको तयारी केही देखिदैन ।
यदि सरकारले समयमै उचित कदम चालेन भने धार्मिक, आर्थिक र कूटनीतिक तीनै तहमा नकारात्मक असर पर्ने निश्चित छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया