Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

वीरगञ्जमा व्यापारी र सशस्त्र प्रहरीबीच झडप, ३ जना घाइते


काठमाडौं । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ ।

राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।

सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा पुगेको थियो ।

टोलीले खानतलासी सुरु गर्नासाथ स्थानीय व्यापारीहरूले कडा विरोध जनाएका थिए । व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुस्ख दिइएको आरोप लगाएका छन् । बिल देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि अवस्था तनावग्रस्त बन्दै गएको जनाइएको छ ।

आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको सशस्त्र प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारका कारण सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीनजना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता(सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

अहिले सामानको लगत संकलन गर्ने र मुचुल्का उठाउने काम भइरहेको छ घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट