Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन महँगो, प्रतिमतदाता लागत १ हजार ११ रुपैयाँ


काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै खर्चिलो हुने देखिएको छ। सरकारले स्वीकृत गरेको बजेट र मतदाता संख्याको आधारमा प्रतिमतदाता खर्च १ हजार १० रुपैयाँ ९१ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

अर्थ मन्त्रालयले निर्वाचनका लागि कुल १९ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। सो आधारमा गरिएको गणनाअनुसार यसपटकको निर्वाचनमा प्रतिमतदाता लागत एक हजार रुपैयाँ नाघ्ने भएको हो।

निर्वाचन खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा सुरक्षामा जाने भएको छ। कुल बजेटको करिब ६४ दशमलव ७८ प्रतिशत रकम गृह र रक्षा मन्त्रालयमार्फत परिचालन हुने जनाइएको छ। विशेषगरी म्यादी प्रहरी भर्ना तथा परिचालनमा ठूलो रकम खर्च हुने देखिएको छ।

यसपटक १ लाख ४९ हजार ९० जना म्यादी प्रहरी भर्ना गरिँदै छ। यसका लागि ७ अर्ब ९४ करोड १० लाख रुपैयाँ छुट्याइएको छ। जसमध्ये नेपाल प्रहरीले ७ अर्ब १३ करोड रुपैयाँ तथा सशस्त्र प्रहरीले ८० करोड ८४ लाख रुपैयाँ खर्च गर्नेछन्। यो रकम कुल बजेटको ४१ दशमलव ५५ प्रतिशत हो।

यसअघि २०७९ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिमतदाता खर्च १ हजार ६८ रुपैयाँ रहेको थियो। उक्त निर्वाचन दुई तहको एकैसाथ सम्पन्न भएको थियो। तर यसपटक प्रतिनिधिसभाको मात्र निर्वाचन हुँदा पनि प्रतिमतदाता खर्च उच्च देखिनुले निर्वाचन व्यवस्थापन झन् महँगो बन्दै गएको संकेत गरेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार मतदाता संख्या वृद्धि, मतदान केन्द्र विस्तार र बढ्दो सुरक्षा संवेदनशीलता खर्च वृद्धि हुनुका मुख्य कारण हुन्। उनले निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारीमा खर्च बढेको बताए।

प्रदेशसभा निर्वाचन छुट्टै गर्नुपर्ने अवस्था आएमा आगामी दिनमा राज्यलाई थप आर्थिक दायित्व व्यहोर्नु पर्ने देखिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट