Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

सरकार जति टिक्छ, माओवादीलाई फाइदा पुग्छ : प्रचण्ड


कैलाली, २० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । त्यही भएर आफूहरू सरकार बदल्ने खेलमा नरहेको उनको भनाइ छ ।

आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको टिप्पणी गरे ।

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौँ,’ प्रचण्डले भने, ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौँ, हामीलाई जनतातिरै ठीक छ ।’

दुई तिहाईको ‘राग अलाप्ने’ सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको प्रचण्डको टिप्पणी थियो । अध्यादेश पास हुने अवस्था नरहेको उनको भनाइ छ । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन,’ प्रचण्डले भने ।

पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको उनले दाबी गरे । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठूलो योगदान गर्ने उनको तर्क छ । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने प्रचण्डको भनाइ छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट