Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

प्रचण्डको मर्निङ वाक : पार्टी निर्माण कि प्रचारात्मक अभियान मात्र ?


जुलियस सिजरले रुबिकन नदी पार गर्दै रोममा गृहयुद्धको सुरुवात गरे । वासिङ्टनले हिउँ परेको समयमा डेलावेयर नदी पार गरेर अमेरिकी क्रान्तिको दिशा परिवर्तन गरे । माओ त्से तुङले सांस्कृतिक क्रान्तिको सुरुवात गर्दा याङ्सी नदी पार गरेको घटनाले चीनको राजनीतिक परिदृश्यलाई नयाँ मोड दियो । माओको यो पौडी शारीरिक अभ्यास मात्र थिएन कि यसले सांस्कृतिक क्रान्तिको सुरुवातको संकेत गर्‍यो ।

महान छलाङको असफलतापछि माओ राजनीतिक रूपमा पन्छाइएका थिए । पार्टीभित्र उनका आलोचकहरू—लिउ साओची, देङ सियाओपिङहरु उनलाई सीमित भूमिकामा राख्न चाहन्थे । तर, माओले आफ्नो शक्ति पुनःस्थापित गर्न सांस्कृतिक क्रान्ति सुरु गरे ।

यो पौडी प्रतिकात्मक थियो । माओले आफू अझै सशक्त नेता रहेको देखाउन खोजे ।

यो घटनापछि माओ सिधै बेइजिङ पुगे । केही हप्तामै उनले ‘मुख्यालयमा बमबार्ड गर’ भन्ने नारासहित पार्टी नेतृत्वलाई चुनौती दिए । लाखौँ समर्थकहरूसँग तियानआनमेन स्क्वायरमा उनले विशाल र्‍यालीहरू आयोजना गरे । यसरी माओ पुनः सत्तामा फर्किए र सांस्कृतिक क्रान्तिको कठोर दशक सुरु भयो ।

उनले याङ्सीमा फेरि कहिल्यै पौडी खेलेनन् । तर, सांस्कृतिक क्रान्तिको अन्त्यसम्म झोंगनानहाईस्थित इनडोर स्विमिङ पुलमा नियमित पौडी खेलिरहे । माओको यो पौडी केवल शारीरिक अभ्यास थिएन, यो राजनीतिक पुनरुत्थानको संकेत थियो ।

माओका आफूलाई अनुयायी बताउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मर्निङ वाक पनि यस्तै संकेत त होइन ? प्रचण्डले सडकमा हिंड्दा उनी ‘अझै युवा छु’ भन्ने देखाउन खोजिरहेका छन् । प्रश्न उठ्छ— युवाहरुले चुनौती दिन थालेपछि पार्टीभित्र आफ्नो हैसियत जोगाउने मात्र उपाय त होइन ?

प्रचण्डको यो अभियानलाई हेर्दा काँग्रेस, एमालेका नेताहरूलाई पनि शारीरिक रूपमा फिट देखिनुपर्ने दबाब परेको देखिन्छ । नेपाली राजनीतिमा उमेरले थकित नेताहरूले आफ्नो स्वास्थ्यलाई मात्र होइन, जनताको मनोविज्ञानलाई पनि सोच्नुपर्ने समय आएको छ । तर, के मर्निङ वाकले मात्र राजनीतिक प्रभाव बलियो बनाउँछ त ?

पछिल्ला निर्वाचनहरूमा माओवादी केन्द्रले ठूलै धक्का खाएको छ । २०७० सालमा हजारौं मान्छे पार्टी प्रवेश गराइएका ठाउँका बुथमा चुनावमा ५० भन्दा कम मत आएको तथ्य आफैंमा पार्टीको ठूलो संकटको संकेत हो । सडकमा हिंडेर, केही कार्यकर्ता, ओसारिएका जनतासँग भेटेर पार्टी बलियो हुँदैन भन्ने उदाहरण हजारौं छन् ।

प्रचण्डले मर्निङ वाक गर्दा कार्यकर्तामा केही क्षण तातोपन ल्याउन सक्लान् तर पार्टीभित्र नीति सुधार, संगठन सुदृढीकरण, पार्टीभित्रका भ्रष्टाचारीमाथि कठोर नीति र वैचारिक स्पष्टताको सवालमा भने उनले ठोस कदम उठाएका छैनन् । जब पार्टीभित्र भ्रष्टाचार गर्नेहरू नै उच्च ओहदामा पुर्‍याइन्छन्, बढुवा गरिन्छ, सुशासनको कुरा गर्नुको के अर्थ रहन्छ ?

राजनीतिक विश्लेषकहरू प्रचण्डको मर्निङ वाक र सडकमा देखिने अभियानलाई केवल प्रचारको रूपमा हेर्छन् । सत्ता गुम्दाको छटपटी वा पार्टीभित्रको बर्चस्व जोगाउने खेल ? यो अभियानले माओवादी केन्द्रको भविष्य सुनिश्चित गर्छ कि केवल केही समयका लागि देखावटी सन्देश दिन्छ ?

माओले पौडी खेलेर पार्टीलाई संदेश दिए तर त्यससँगै पार्टी संगठन बलियो बनाउन निरन्तर मेहनत गरे । प्रचण्डले मर्निङ वाक मात्र होइन, पार्टीभित्र वैचारिक स्पष्टता, भ्रष्टाचार नियन्त्रण, युवा नेतृत्वको अवसर, संगठन सुदृढीकरण जस्ता वास्तविक विषयमा ध्यान दिएनन् भने माओवादी केन्द्रको संकट अझ गहिरिनेछ । प्रचारले पार्टी बचाउँदैन, वैचारिक स्पष्टतासहित सुदृढ संगठनले मात्र विकल्पसहितको शक्ति निर्माण गर्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट