गणतन्त्रको विकल्प राजतन्त्र हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन भनेका छन् । गृहमन्त्री लेखकले यो भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह नपर्न र हौसिन आवश्यक नरहेको बताएका छन् । आइतबार बिहान सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरुले भ्रम फैलाइरहेको बताए । र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको उनको भनाइ थियो ।
उनले केही मानिसहरुले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइराखेका र त्यसैको भ्रम राजा हौसिन थालेको बताएका हुन् । गृहमन्त्री लेखकले आन्दोलन र क्रान्तिबाट फालिएको राजसंस्थाका राजाहरु उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह गरे ।
यसलाई कमजोरीका रुपमा नलिन पूर्वराजा शाहलाई गृहमन्त्री लेखकले चेतावनीसमेत दिए । उनले भने, ‘हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिस्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रुपमा कसैले पनि नलियोस् ।’
क्याटेगोरी : राजनीति
प्रतिक्रिया