सर्वोच्च अदालतद्वारा ‘जनयुद्ध दिवस’ मा बिदा दिने पालिका प्रमुखहरूलाई कारण देखाउ आदेश

काठमाडौं / सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णय गरेका ४५ पालिका र एक वडाका प्रमुखहरूलाई कारण देखाउ आदेश जारी गरेको छ ।
पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ, विनयध्वज चन्द, द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण, चिरञ्जीवीवास गिरी, गंगामाया अधिकारीलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले यसअघि नै नेपाल सरकारको २०७९ माघ २९ गतेको निर्णयलाई बदर गर्दै ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने व्यवस्था खारेज गरिसकेको थियो । तर, सर्वोच्चको आदेश विपरीत केही स्थानीय तहहरूले फागुन १ गते बिदा दिएको भन्दै अदालतको अवहेलना सम्बन्धी रिट दायर गरिएको थियो ।
आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुन नपर्ने ?” विपक्षीहरूले लिखित जवाफ पेश गर्नुपर्नेछ ।
क्याटेगोरी :
राजनीति
प्रतिक्रिया