सरकारको प्राथमिकतामा संविधान संशोधन परेन : माधव नेपाल

काठमाडौं, १८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार ९व(शाख १८) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा त्यो विषय नपरेको उनले टिप्पणी गरे । उनले सरकारले ०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यो विषयबाट पन्छिएको जिकिर गरे ।
देशमा संविधान लागु भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन र समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए । संविधानमा जनताका मौलिक हक–अधिकार निश्चित गरिए पनि व्यवहारमा लागु हुन नसकेको उनले बताए ।
“सामान्यतया देशमा संविधान लागु भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन गर्नुपर्ने आवश्यकता रहन्छ । समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ,” उनले भने ।
संविधानमा लेखिएका जनताका हक–अधिकारलाई व्यवहारमा लागु गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उनले उल्लेख गरे । “व्यवहारमा लागु गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन,” उनले भने, “आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।”
क्याटेगोरी : राजनीति
प्रतिक्रिया