भारत–पाकिस्तानबीचको युद्ध : माओवादी केन्द्रका नेताहरुको फरक-फरक मत

काठमाडौँ, २५ वैशाख । भारत र पाकिस्तानबीचको युद्धको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच फरक मत बाहिरिएको छ ।
भारत–पाकिस्तानविरुद्ध केही दिनदेखि गरेको हमालको विषयलाई लिएर महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत परस्पर विरोधी धारणा सार्वजनिक गरेका हुन् ।
महासचिव गुरुङले भारतले पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नभएको नभएको टिप्पणी गरेका छन् ।
गुरुङले भनेका छन्, ‘पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिदैंन । अतः त्यसप्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुकबीचमा संवाद गरिनु पर्छ । पलगाम हत्याकाण्डबारे स्वतन्त्र प्रकारको अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानविन गरिनु पर्छ ।’
महासचिव गुरुङ छिमेकी देशको युद्धका विषयमा मौन बस्न नहुने समेत बताएका छन् । उनले उक्त युद्धबाट नेपालसमेत प्रभावित हुने भएकाले नेपालले आफ्नो मान्यता अघि सार्नुपर्ने जनाए । गुरुङले भनेका छन्, ‘छिमेकीहरुबीचको द्वन्द्वबाट नेपाल प्रभावित हुन्छ । यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्वान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन । नेपालले युद्व होइन, शान्तिको पक्ष लिनैपर्छ । शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ ।’
त्यस्तै शर्माले भने भारतको पक्ष लिएका छन् । आतंकवादविरुद्ध लड्नु सबै राष्ट्रको कर्तव्य भएको दाबी गर्दै उनले भारतले गरेको आक्रमणको समर्थन गरेका छन् । शर्माले भनेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दुर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ ।’
क्याटेगोरी : राजनीति
प्रतिक्रिया