काठमाडौं महानगरमा एक्लिए बालेन !

काठमाडौ महानगर पालिकामा अहिले बालेन साहको दिनचर्या निकै कष्टकर बनिरहेको छ । गएको चैत २१ गते कर्मचारी र महानगर प्रहरीबीच ठेलमठेल र धक्कामुक्का हुँदै बालेन साहले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरे त्यसपछि यस्तो अबस्था आएको कार्यालयकै कर्मचारीहरु बताउने गर्छन् ।
नगरप्रमुख बालेनले निलम्बन गरेका कार्यालय प्रमुख गुरागाईलाई कार्यालय प्रवेश गराउन उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू र कर्मचारी लागिपरेको दृश्यले बालेनलाई यो अबस्थामा ल्याउन भूमिका खेलेको देखिएको हो । प्रमुखकै आदेशमा महानगर प्रहरी भने गुरागाईंलाई रोक्ने कसरतमा रहे पनि अन्ततः गुरागाईं आफ्नो कार्यकक्षमा पुगेर हाजिर गरे र कर्मचारीले नपाएको लामो समयदेखिको तलब खातामा निकासा गर्न लेखालाई निर्देशन दिए । बालेन भने नौ दिनसम्म कार्यालय गएनन् ।
महानगर कार्यालय जान थालेपछि पनि प्रमुख साह वडाध्यक्ष र अन्य कर्मचारीसँग नरम रूपमा प्रस्तुत भइरहेको कर्मचारीहरूको भनाइ छ । सामाजिक सञ्जालमा पनि पहिलाजस्तो ‘आक्रामक’ देखिइएका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आफूलाई महानगर प्रमुखसहित कसैबाट पनि समस्या नभएको बताउँछन् । आफू काममा फर्किएपछि कर्मचारीको मनोबल पनि बढेको उनको भनाइ छ । “म आएयता कर्मचारी साथीहरूमा भय हटेको देखिन्छ । उहाँहरू सबै खुलेर काम गरिरहनुभएको छ,” उनी भन्छन्, “पहिलाजस्तो वातावरण छैन, सबैले स्वतन्त्रपूर्वक नियमसंगत काम गरिरहेका छन् ।”
महानगर उपप्रमुख, अन्य जनप्रतिनिधि र कर्मचारी एकातिर र महानगर प्रमुख अर्कातिर उभिएको चैत २१ गते पहिलो दिन थियो । प्रमुख साहलाई महानगर प्रहरी प्रमुख साहको मात्र साथ थियो । उनले त्यसको भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भेटेर आफूले आदेश पालना गरेको तर, दुःख दिने नियत नभएको बताएका प्रष्ट्याएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगर पालिकाको प्रमुखमा विजय भएको तीन वर्षसम्म साहले कार्यालयमा आफ्नो दबदबा कायम राखेका थिए । महानगरका कर्मचारी र जनप्रतिनिधि उनको विरोधमा फाट्टफुट्ट मात्र सुनिन्थे । तेस्रो वर्षको अन्त्यतिर भने उनको कार्यशैलीमा प्रश्न उठ्न थाल्यो र महानगरमा पनि एक्लिने अवस्था आएको एक कर्मचारी बताउँछन् ।
एम्बुलेन्स खरिदमा अनियमितता गरेको भन्दै गएको चैतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख साह र उनका स्वकीय सचिव भूपदेव साहविरुद्ध उजुरी प¥यो । महानगरका एक विभागीय प्रमुख आफ्ना सल्लाहकार र सचिवालयलाई मात्र विश्वास गर्दा नगरप्रमुख साह क्रमशः फस्दै गएको बताउँछन् ।
कर्मचारीलाई पनि साथमा लिएर अगाडि बढेको भए अहिलेको एक्लो अवस्था नआउने उनको दाबी छ । “उनले कहिल्यै कर्मचारीलाई गन्दै गनेनन् । सधैं हल्का रूपमा लिए,” ती विभागीय प्रमुख भन्छन्, “त्यसैले अहिलेको परिणाम भोग्नुपरेको हो ।”
किन खस्कियो समर्थन !
नगरप्रमुख प्रमुख साहले गएको चैत ११ गते सामाजिक सञ्जालमा एउटा पोस्ट गरे, “काठमाडौँ महानगरपालिकाका सरसफाई कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् त्यो पनि सरकारको दम्भले ! कोकोले केके आन्दोलन गर्ने हो मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु । त्यसपछि हेरौं, तिमीहरूको केके तन्त्र हो !”
उनले यस्तो स्टेटस लेखेको चार दिनपछि चैत १५ गते राजतन्त्र समर्थकको आन्दोलन राजधानीमा थियो । उक्त आन्दोलनमा झडप, तोडफोड र आगजनी भए । दुई जनाको मृत्यु भयो । घर र गाडीहरूमा आगो लगाइयो ।
भोलिपल्ट चैत १६ गते काठमाडौं महानगरले सडक र सडकपेटीमा फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति पु¥याएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिबाना गराउन पूर्वराजा ज्ञानेन्द्रलाई पत्र लेख्यो । पत्र बुझाउन चैत १७ गते महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर उनीहरूलाई गेटबाटै फर्काइएको थियो ।
साहको यो कदमलाई कतिपय गणतन्त्रवादीले प्रशंसा गरे पनि राजतन्त्रका समर्थकले सामाजिक सञ्जालमै भाइरल एक भिडिओमा त गाडीको अगाडि र पछाडि टाँसिएको बालेनको फोटो भएको ‘स्टिकर’ एक समर्थकले हटाइरहेको देखिन्छ । “यतिको युवाले देश बनाउँछ भन्ने लागेको थियो । फ्यान भएर अगाडि–पछाडि नै बालेनको फोटो राखें, तर गद्घार रहेछ,” ती समर्थकले भनेका छन्, “म आजबाट बालेनको फ्यान रहिनँ ।”
यता, बालेनले ‘टुकुचामा गाडिदिने’ धम्की दिएको एक साता नाघिसकेको थियो । न उनले गुरागाईंलाई भ्रष्टाचारी भएको प्रमाण दिन सकेका थिए न त सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएर कर्मचारीलाई तलब बाँड्ने बाटो खुलेको थियो । त्यसको तीन दिनपछि गुरागाईं महानगर बलपूर्वक प्रवेश गरे ।
गुरागाईंलाई कार्यालय प्रवेश गराउन सबैभन्दा ठूलो भुमिका उपप्रमुख सुनिता डंगोलले खेलेको देखिन्थ्यो । कार्यालय प्रवेशमा रोक लगाउने महानगर प्रमुख साहको आदेश मानेर खटिएका महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि पनि डंगोलले प्रश्न उठाएकी थिइन् । “प्रवेश नदिन माथिको आदेश छ ? लिखित आदेश छ ? छ भने देखाउनुप¥यो,” उनले पाण्डेलाई भनेकी थिइन्, “तपाईं जति प्रमुखप्रति जवाफदेही हुनुहुन्छ, त्यति नै उपप्रमुखप्रति पनि हुनुहुन्छ । यहाँ महानगरकै यत्रो मान्छेहरू हुनुहुन्छ, आदेश नै हो भने यहाँ आएर दिनुप¥यो ।” डंगोल कड्किएपछि महानगर प्रहरी प्रमुख पाण्डेले महानगर प्रहरीलाई बाटोबाट हट्न आदेश दिएका थिए ।
प्रमुख–उपप्रमुखको चिसो सम्बन्ध !
नगरप्रमुख साह र उपप्रमुख सुनिता डंगोलबीच पहिला सौहाद्र्रपूर्ण सम्बन्ध थियो । तर, पछिल्लो एक वर्षयता दुवैबीचको सम्बन्धमा दरार आएको सार्वजनिक रूपमै देखिँदै आएको छ । दुई साता अगाडि एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा डंगोलले साह लक्षित अभिव्यक्ति दिइन् । “अहिले हामी देख्छौं धेरै जनाले स्टन्ट गर्नुहुन्छ । पपुलर बन्नुहुन्छ, अनि पपुलिस्ट भएरै देश बन्छ भन्ने लाग्छ ? अरूलाई गाली गरेरै देश बन्छ जस्तो लाग्छ ? स्टन्ट गरेर देश बन्छ ? स्टन्ट गरेर देश बन्दैन,” उनले भनेकी थिइन् ।
अहिले पनि साह र डंगोलको सम्बन्ध राम्रो नभएको महानगरका कर्मचारी बताउँछन् । महानगर कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएयता दुवैको भेट भएको छैन । महानगरका कामकाजमा पनि दुवैको तालमेल छैन । “दुवै जना युवा हुनुहुन्छ । दुवैको आ–आफ्नै शैली छन् । कोही कसैसँग झुक्न चाहनुहुन्न,” ती कर्मचारीले समयवद्धसँग भने, “यसले त काठमाडौ महानगरको वातावरण नै बिग्रिरहेको छ । उहाँहरूबीच सहकार्य नभएसम्म त काम पनि प्रभावित भइरहेको छ ।”
एक्लिए नगरप्रमुख बालेन !
महानगरकै कतिपय कर्माचारीहरू मेयर बालेन अहिले एक्लो महसुस गरिरहेको बताउँछन् । प्रायः सामाजिक सञ्जालबाटै आफ्ना कुराहरू राख्ने उनले चैत ३० गते राति १० बजेतिर फेसबुकमा लेखेका थिए, “मेरो माया लाग्छ ?” कर्मचारीहरूका अनुसार उनले महानगरभित्र आफू कमजोर भइसकेको बुझेपछि नै त्यस्तो लेखेका थिए । यद्यपि, भोलिपल्ट उक्त पोस्ट हटाएका थिए ।
झन्डै ४० लाख फलोअर्स भएको फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’ प्रमुख साहको समर्थनमा रहेको मानिन्छ । तर पछिल्लो समय उक्त पेजले पनि साहको समर्थनमा पोस्ट गरेको छैन । यसअघि भने प्रमुख साहले सामाजिक सञ्जालमा केही लेख्दा त्यसलाई तुरून्तै आफ्नो पेजमा जस्ताको त्यस्तै राखिदिन्थ्यो । साहलाई प्रमुखमा जिताउन पनि यो पेजले खुलेरै सहयोग गरेको थियो । तर पछिल्लो समय बालेनको लोकप्रियता घटन थालेपछि उक्त पेजले पछ्याउन छाडेको निकटस्थहरु बताउँछन् ।
प्रशासकीय अधिकृत गुरागाईं कार्यालय फिर्ता भएको दुई सातापछि वैशाख ८ गते महानगर प्रमुख साहले ‘गुरागाईं र काठमाडौँ टावर’ बारे लामो स्टेटस लेखेका थिए । त्यसमा रुटिन अफ नेपाल बन्दका संचालक भिक्टर पौडेलले कमेन्ट गरेका थिए, “ओहो पोस्ट शेयर गर्न त हुन्थ्यो, तर फेरि म्यानुपुलेट ग¥यो भन्छन्, गाह्रो छ भ्रष्टाचारको विरोध गर्न नि !”
साइलेन्स बालेन !
चौतर्फी आलोचनाको शिकार बनेको बालेन अहिले चुपचाप बसिरहेका छन् । कामको सिलसिलामा काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुखहरूसँग कहिल्यै महानगर प्रमुख साह आफैले ‘डिल’ गरेनन् । बरू उनले विभागै पिच्छे नियुक्त गरेका सल्लाहकार मार्फत कामको प्रगति लिन्थे । प्रमुख साहलाई ‘रिपोर्टिङ’ पनि विभागीय प्रमुखले नभई उनका सल्लाहकारहरूले नंै गर्थे ।
तर पछिल्लो एक महिनादेखि सल्लाहकारहरू कर्मचारीका अगाडि पहिला जसरी प्रस्तुत भएका छैनन् । “अहिले महानगरभित्रको वातावरण पहिला जस्तो छैन । नयाँ वर्षदेखि निकै फेरिएको छ,” महानगरको स्वास्थ्य विभागमा कार्यरत एक कर्मचारी भन्छन्, “अहिले हामी खुशी छौं । कसैको दबाब प्रभाव आउँदैन । नियमसंगत काम भइरहेको छ ।”
शहरी व्यवस्थापन विभागका एक कर्मचारी भने चैत २१ गतेको घटनाले कर्मचारीको मनोबल मात्रै नभई, काम गर्ने वातावरण पनि बनेको बताउँछन् । उनका अनुसार यसअघि बालेनका सचिवालय र सल्लाहकारहरूले प्रक्रिया नै नपु¥याई काम गर्न दबाब दिने गरेका थिए ।
“बल्ल साइजमा आए सबै । अहिले त कोही देखा पनि पर्दैनन् । पहिला यो विभाग, त्यो विभाग गरिरहन्थे,” ती कर्मचारी भन्छन्, “अहिले भित्रमात्रै होइन बाहिर पनि बालेनजीप्रतिको विश्वास खस्किएको छ । खाली कर्मचारीलाई कारबाही गरेर हुन्छ ? उसको गल्ती प्रमाणित गर्नुपर्दैन ?”
नगरप्रमुख साहका स्वकीय सचिव भूपदेव साहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गरेकै दिन ‘भ्रष्टाचारी कार्यकारीलाई जबर्जस्ती कार्यालय प्रवेश गराएर नाटक मञ्चन गरेको’ अभिव्यक्ति दिएका थिए । तर आफैविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेपछि र आफैविरूद्ध कर्मचारीहरूले कारबाही माग गरेपछि उनी सञ्चारकर्मीहरूसँग सम्पर्कमा आइरहेका छैनन् । हिजो समयवद्धले स्वकीय सचिव साहसँग पटक–पटक सम्पर्क प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।
सँधै सत्तासँगै सिंंगौरी !
२०७९ बैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा प्रमुख दलका उमेदवारलाई हराएर एकाएक उदाएका बालेन त्यसयता निरन्तर चर्चामा शिखरमा छन् । सामाजिक सञ्जाललाई अत्याधिक प्रयोग गराएर जित निकालेका उनी त्यसबेलादेखि केन्द्र र प्रदेश सरकारसँग निरन्तर सिंगौरी खेलिरहेका छन् । केन्द्र र प्रदेश सरकार भन्दा आफूलाई अलग ठान्दै आएका वालेनले पटक पटक दुबै तहको सरकारबाट असहयोग झेलिरहेका छन् । स्थानीय तह प्रमुख भएकै कारण दुबै तहको सरकासँग समन्वय गरेर अगाडि बढ्नुपर्ने उनको सिंहदारवार जलाउने र फोहोर सिंहदरवारमा थुपार्ने बिवादास्पद अभिव्यक्तिले सामाजिक सञ्जालमा ‘वाहीवाही’ बटुले पनि अन्तत अहिले उनी निराश बन्न पुगेको देखिएको छ । त्यसले उनीमाथि वारम्वार उपप्रमुख डंगोलले भन्दै आएकी छन्–् ‘स्टन्टले देश बन्दैन ।’ सोमवार साँझ समयवद्धसँग कुरा गर्दै उनले काठमाडौं महानगरवासीले दिएको मतको नगरप्रमुखबाट अबमूल्यन भएको छ, हामीलाई गलत काम गर्ने छुट छैन, जिम्मेवार बन्नैपर्छ ।
क्याटेगोरी : पालिका, राजनीति
प्रतिक्रिया