बीपीका छोरा, प्रचण्डकी छोरी र राजनीतिक थर–संस्कृति

भरत पोखरेल
विश्वेश्वरप्रसाद (बीपी) कोइरालाका जेठा छोरा प्रकाश कोइराला राजनीतिमा आए कसैले यसबारे प्रश्न उठाएनन् कोइराला परिवारको यो राजनीतिक विरासत हो भन्ठाने । जब बीपीका कान्छा छोरा शशांक कोइराला नेत्र चिकित्सक (ओफ्थाल्मोलोजिस्ट) को पेशा छाडेर राजनीतिमा प्रवेश गरे बीपीपुत्र भनेर व्यङ्ग्य चल्न थाल्यो । केही दिन पहिला यिनै बीपीपुत्र शशांक कोइरालाले प्रचण्डपुत्री भनेर रेनु दाहाललाई व्यङ्ग्य गरेपछि सामाजिक सञ्चालमा रोइलो नै चल्यो । साहित्य, संगीत, सिनेमा, राजनीतिमा वंश परम्परा नभएको होइन तर यसलाई सापेक्षतामा समीक्षा गर्नु राम्रो होला । भारत स्वतन्त्र भएपछि दुईवटा थर निकै लोकप्रिय थिए एउटा गान्धी र अर्को नेहरु । गान्धी थर भारतीयको भावनात्मक सम्बन्ध जोडिएको थर बनेको थियो । इन्दिरा नेहरुको फिरोज गान्धीसँग विवाहपछि इन्दिराले नेहरु थरको साटो गान्धी थर लेख्न थालिन (इन्दिरा गान्धीः ए बायोग्राफी, १९९२ः पुपुल जयकार) । यो परम्परा सोनिया गान्धी, मेनका गान्धी र प्रियंका गान्धी वाड्रासम्म चलिरहेको छ । पाकिस्तानमा जुल्फीकार भुट्टोपछि उनकी छोरी बेनजीरले आजीवन भुट्टो थर लेखिन । बेनजीरले आफ्नो विवाह प्रेम विवाह, पारम्पारिक विवाह नभएर एउटा परिस्थितिजन्य विवाह थियो भनेकी छन् । उनले विवाहपूर्व आसिफ अलि जर्दारीसँग एउटा अनुरोध गरेकी थिइन कि विवाहपछि पनि उनलाई माइतीको थर भुट्टो लेख्न दिइयोस (चेकर्ड पास्ट, अनसर्टेन फ्युचरः द हिस्ट्री अफ पाकिस्तान, २०२४ः ताहिर कामरान) । जर्दारीले बेनजीरसँग विवाह गर्न पाउने लोभमा तुरुन्त सर्त स्वीकार गरेका थिए । बेनजीर भुट्टो र आसिफ अली जर्दारीका तीनवटै सन्तान भुट्टो जर्दारी थर लेख्छन् । बिलावल भुट्टो जर्दारी, बख्तावार भुट्टो जर्दारी र आसिफा भुट्टो जर्दारी ।
बेनजीरका पति आसिफ अलि जर्दारी पाकिस्तानका राष्ट्रपति भए अनि छोरा बिलावल विदेशमन्त्री । बिलावल पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष छन् । नेपालमा पनि हिसिला यमी र बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईको नाम थर प्रकृति भुट्टो परिवारको जस्तो छ तर मानुषीको आधिकारिक (शैक्षिक प्रमाणपत्रको) नाम चाहिँ मानुषी नभएर एक समयको वाध्यताले अस्मिता सिंह रहेको छ ।
भारतका प्रख्यात कवि हरिवंश राय श्रीवास्तवले आफ्नो थर श्रीवास्तव छाडेर बच्चन लेख्न थाले । हरिवंश राय बच्चनका छोरा भनेर अमिताभ पहिला चिनिन्थे पछि अमिताभ बच्चनका पिता भनेर हरिवंश राय बच्चन चिनिने गरेको हरिवंशले बेलाबेला लेखेका छन् । जब अमिताभको छोरा अभिषेक बच्चन अभिनयको उत्कर्षमा पुगे बच्चनभन्दा कुन बच्चन भन्ने प्रश्न उठ्न थालेपछि अमिताभलाई बीग बी भन्न थालियो । २०३६–३८ साल तिर महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा हामी तीन भरत पोखरेलः सुनसरीका भरतराज पोखरेल (व्यवस्थापन), खोटाङका भरतकुमार पोखरेल (विज्ञान) र सप्तरीको म भरत पोखरेल (मानविकी) मा अध्ययनरत थियौं । भरतराज र म विद्यार्थी राजनीतिमा सक्रिय भएकाले हाम्रो भिन्नता छुट्याउन भरतराज मभन्दा उमेरमा पाको र अलि अग्लो भएकाले वहाँलाई ठुलो भरत र मलाई सानो भरत भन्थे । सामाजिक सञ्जाल फेसबुकमा हामी आधीदर्जन भरत पोखरेल सक्रिय छौं । एउटाले आफ्नो बर्थडे हाल्छ अर्काकोमा बधाई र शुभकामनाको ओइरो लाग्छ । एउटाले आफन्तको मृत्युको समाचार राख्छ अर्काकोमा समवेदना आउँछ । मैले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा पढाउँदाको बेला २०४६–५२ तीनजना विष्णुप्रसाद शर्मा हुनुहुन्थ्यो । एउटा शर्माको चिठी आउँदा अर्का शर्माले चिठी खोलेर पढिदिएका कुराले क्याम्पसमा खुब हँस्यौली चल्थ्यो । चीनका राष्ट्रपति सी चिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोबाट स्थायी समितिको ६ नम्बरमा आउँदा सन २००७ सम्म श्रीमती प्रख्यात गायिका, चिनियाँ जनसेनाकी मेजर जनरल पेङ लियुआनको श्रीमान् भनेर चिनिन्थे । आज सीलाई संसारमा नचिन्ने कोही छैन (द पार्टी, २०१२ः रिचार्ड म्याग्रेगोर) ।
विश्वका कतिपय समुदायमा नाममात्र लेख्ने थर नराख्ने चलन छ जस्तो आइसल्यान्डमा केही समुदायले नाममात्र लेख्छन्, इन्डोनेसियाको जाभा र सुमात्राका केही समुदायमा नाममात्र लेखिन्छ जस्तो सुकार्नो, सुहार्तो (सुकार्नो ए पोलिटिकल बायोग्राफी, २०१२ः जे.डी. लेग्गी) । अफगानिस्तानमा पनि एउटा समुदाय नाममात्र लेख्छ अहमद (सन अफ महम्मद), भुटानमा कतिको दुईटा नाम हुन्छ थर हुँदैन टासी दोर्जी, तिब्बत, म्यानमार, मंगोलियामा पनि केही समुदायले नाममात्र लेख्छन् । भारतका गुजरात र महाराष्ट्रमा मध्यनाम बाबुको नाम हुन्छ । मोहनदास करमचन्द गान्धी, नरेन्द्र दामोदरदास मोदी, सचिन रमेश तेन्दुलकर यहाँ करमचन्द गान्धीका बाबु, दामोदरदास मोदीका बाबु र रमेश तेन्दुलकरका बाबुको नाम हो । महाराष्ट्र सरकारले २०१४ देखि आधारकार्ड र प्यानकार्डका लागि जन्मदर्तामै बच्चाको नाम + आमाको नाम + बाबुको नाम + थर अनिवार्य गरेको छ जस्तो रोहन अञ्जली संजय पाटिल । अनाथहरूको हकमा यो नियम अनिवार्य छैन । दक्षिण भारतको तमिलनाडु र केरलामा केही समुदायले नामको अगाडि बाबुको नाम लेख्ने चलन छ आर रजनीकान्त (रामास्वामी रजनीकान्त), एम प्रिया (मोहन प्रिया) तर अचेल यो परम्परा हराउँदै गएको छ । रवान्डामा ठुलो समुदायमा एउटै परिवारका सदस्यको नामका साथै थरहरू पनि फरकफरक लेख्ने चलन छ (लेफ्ट टु टेल, २००६ः इमाकुल्ली इलिबागिजा) । लेखकले आफ्नो परिवारको नामावली यसरी दिएकी छिन्ः बाबु लियोनार्ड उकुलिकिइनकिन्डो, आमा मेरी रोज कानकिन्डी, जेठो दाजु एम्याबल नुकानयाग्वे, माइलो दाजु जिन मुहिरवा, छोरी इमाकुल्ली इलिबागिजा र कान्छो भाइ जोन मारिएभियान्ने काजेनेजा ।
हिन्दु मिथोलोजीमा पुत्रपुत्री भन्ने परम्परा धेरै पाइन्छ । देवपुत्र (अर्जुन), वासुपुत्र (कृष्ण), अग्निपुत्र (कार्तिकेय), सूर्यपुत्र (कर्ण), कुन्तीपुत्र (कर्ण), वायुपुत्र (हनुमान), पवनपुत्र (हनुमान), गंगापुत्र (भीष्म), गंगापुत्री (यमुना), यमपुत्री (यमुना), मेनकापुत्री (शकुन्तला), पुलोमपुत्री (शची), सूर्यपुत्री (ताप्ती) आदि । नेपालका थकाली, तामाङ लोमानथाङ समुदायमा पनि पुत्रपुत्री लेख्ने परम्परा पाइन्छ । ताशीपुत्र, निमादोर्जेपुत्री, छिरिङपुत्र, पेमापुत्री आदि । राजनीतिमा वंशवादलाई व्यङ्ग्य गर्ने परम्परामा पनि पुत्रपुत्रीको प्रचलन रहेको छ । नेहरु–गान्धी परिवारका राहुल गान्धीलाई राजकुमार, शाहजादा, पाकिस्तानमा भुट्टो–जर्दारी परिवारका बिलावल भुट्टो जर्दारीलाई वारिस, बंगलादेशकी शेख हसिनालाई बंगबन्धुपुत्री, खालिदा जियालाई जियाकी विधुवा, दक्षिण कोरियामा पार्क परिवार, थाइल्यान्डमा शिनावात्रा सन्तान, अमेरिकामा बुश, क्लिन्टन डाइनेस्टी राजनीतिमा व्यङ्ग्यका रूपमा प्रयोग हुने शब्दहरू हुन् । यिनै व्यङ्ग्यात्मक सन्दर्भमा बीपीका छोरा शशांक र प्रचण्डकी छोरी रेनुलाई बीपीपुत्र र प्रचण्डपुत्रीको सन्दर्भ बेलाबेलामा आउने गर्छ । एक समय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाई पनि गिरिजापुत्री, गणेशमानका छोरा प्रकाशमानलाई गणेशमानपुत्र भनिएकै हो । बिल्डर्स जेनरेसन सन १९२५–१९४५ ले गान्धीभन्दा मोहनदास करमचन्द गान्धीलाई चिन्दथ्यो, बुमर्स जेनरेसन १९४६–१९६४ र जेनरेसन एक्स १९६५–१९७९ ले गान्धीभन्दा इन्दिरा गान्धीलाई चिन्दथ्यो, जेनरेसन वाई १९८०–१९९४ ले गान्धीभन्दा राजीव गान्धीलाई चिन्दथ्यो, जेनरेसन जी (जेड) १९९५–२००९ ले गान्धीभन्दा सोनिया गान्धीलाई चिन्दछ र जेनरेसन अल्फा २०१०–२०२४ ले गान्धीभन्दा राहुल गान्धी र प्रियंका गान्धीलाई चिन्दछ । समय समय की बात है ।
इन्डोनेसियामा सन्दर्भ फरक छ । इन्डोनेसियाका पहिलो राष्ट्रपति सुकार्नोले जीवनमा नौ विवाह गरे र उनका धेरै सन्तान भए । फतमावती पत्नीबाट भएका सन्तानले सुकार्नो पुत्रपुत्री थर लेख्न थाले । मेगावती भारत उडिसा राज्यका पूर्व मुख्यमन्त्री बीजु पटनायकले राखिदिएको नाम हो । बीजु पटनायक इन्डोनेसिया स्वतन्त्र सेनानीको रूपमा लडेका थिए जसलाई सुकार्नोले अति आदर गर्थे । छोरी जन्मिएपछि नाम राखिदिन बीजु पटनायकलाई अनुरोध गर्दा उनले मेगावती नाम राखि दिएका हुन जसको अर्थ मेघ वा बादल हो (बीजु पटनायकः द रेन मेकर अफ अपोजिसन पोलिटिक्स, २०२५ः भाष्कर परीक्षा) । उनै मेगावतीले आफ्नो थर सुकार्नोपुत्री लेख्न थालिन् जो पछि इन्डोनेसियाको पहिलो महिला राष्ट्रपति भइन् (द अनफोरगेटेबल क्वीन्स अफ इस्लाम, २०२०ः साहला हाएरी) । उनका भाइबहिनीले पनि उही थर लेख्न थाले गुंटुर सुकार्नोपुत्र, गुरुह सुकार्नोपुत्र, तितीक सुकार्नोपुत्री, सुकमावती सुकार्नोपुत्री र थन्डर सुकार्नोपुत्र । सुकार्नोका अन्य पत्नीहरूका सन्तानले थर सुकार्नो लेख्ने गरेको पाइन्छ (मेगावती सुकार्नोपुत्री, प्रेसिडेन्ट अफ रिपब्लिक इन्डोनेसिया, २००१ः रुस्दी मुख्तार) । बीपीपुत्र शशांक कोइराला र प्रचण्डपुत्री रेनु दाहालले यी नामहरूलाई राजनीतिमा सहज रूपमा लिनुपर्छ ।
शशांक कोइराला संविधानसभा र संसदीय चारवटा निर्वाचन जितेर अहिले पनि सांसद छन् । एकसमय संविधानसभा समानुपातिक सदस्य रहेकी रेनुले काठमाडौँ निर्वाचन क्षेत्र १ बाट संविधानसभा निर्वाचनमा पराजयपछि उनले भरतपुर महानगरलाई कर्मक्षेत्र बनाइन र दुईपटक प्रमुखमा निर्वाचन जितेर सकारात्मक छवि बनाएकी छन् । रेनु दाहालको राजनीति अहिलेसम्म बाबु पुष्पकमल दाहाल प्रचण्डकै संरक्षकत्वमा रहेको देखिन्छ । भविष्यको राजनीति बीपीपुत्र शशांक कोइराला र प्रचण्डपुत्री रेनु दाहालका लागि संभावना र चुनौति बराबर देखिन्छ । दुबैलाई उज्ज्वल भविष्यको कामना !
क्याटेगोरी : राजनीति
प्रतिक्रिया