Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको माग


काठमाडौं, ५ जेठ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोको जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

“तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, “हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशित गर्दछु ।”

प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

“त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर बनाएको छ,” उनले भनेका छन् । रासस


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट