माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रयासः अध्यक्ष यादवको प्रस्ताव र प्रचण्डको सकारात्मक संकेत

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफू अझै पनि तयार रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा यादवले पार्टी एकताको प्रस्ताव पुनः अघि सारेका हुन् ।
महाधिवेशनमा पार्टी नामबारे छलफलको लिखित प्रतिबद्धता भए एकता तुरुन्तै सम्भव
अध्यक्ष यादवले प्रचण्डसँगको छलफलमा पार्टी नामका विषयमा महाधिवेशनमार्फत छलफल गरिने लिखित प्रतिबद्धता जनाएमा आफू तत्काल एकताका लागि तयार हुने स्पष्ट पारेका छन् । यो प्रस्तावप्रति प्रचण्ड सकारात्मक देखिएको यादवले जानकारी दिएका छन् । समयबद्धसँगको कुराकानीमा अध्यक्ष यादवले भने, “नामका विषयमा पछि महाधिवेशनबाट टुंगो लगाउने सर्तमा हामी आजै एकता गर्न तयार छौं । अध्यक्ष प्रचण्डले पनि यसमा सकारात्मकता देखाउनुभएको छ ।”
‘नेपाल समाजवादी पार्टी’ नामबारे डा. बाबुराम भट्टराईसँगको मुद्दा अझै विचाराधीन
‘नेपाल समाजवादी पार्टी’ नामसम्बन्धी विवाद अहिले पनि अदालतमा विचाराधीन रहेकोले हालै गंगा नारायण श्रेष्ठ समूहसँग भएको एकताको असर मुद्दामा पर्ने भन्दै यादवले सावधानी अपनाएका छन् । उनले भने, “गंगा नारायणसँगको एकता अहिलेको नाममै गर्दा त्यसले मुद्दालाई कमजोर बनाउने सम्भावना छ । त्यसैले त्यो निर्णयलाई केही समय रोक्नु बुद्धिमानी हुन्छ ।”
गंगा श्रेष्ठको एकता या माओवादी प्रवेशबारे छलफल हुँदै
नेसपाका सहअध्यक्ष गंगा नारायण श्रेष्ठको नेतृत्वमा रहेको समूहलाई गर्ने कि माओवादी केन्द्रमै प्रवेश गराउने भन्ने विषयमा समेत दुबै पार्टीका शीर्ष नेताबीच छलफल चलिरहेको छ । अध्यक्ष यादवले सोमबार बस्ने पार्टी पदाधिकारीको बैठकले यसबारे स्पष्ट निर्णय लिने बताए ।
उनले भने, “गंगा श्रेष्ठको एकता वा माओवादी केन्द्रमा प्रवेशबारे सोमबार निर्णय हुन्छ । आवश्यक परे एक–दुई दिन कार्यक्रम लम्ब्याएर हामीसहितको पनि एकता सम्भव हुन्छ ।”
यसरी, नेपालको बामपन्थी राजनीतिमा फेरि एकपटक नयाँ ध्रुवीकरणको संकेत देखिएको छ । प्रचण्ड र यादवबीचको सम्भावित एकताले बाम गठबन्धनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ । अब यो एकता वास्तविकतामा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुरा आउने केही दिनमै स्पष्ट हुने देखिन्छ ।
यो पनि पढ्नुहोस,
महेन्द्र राय भन्छन : गंगानारायणको माओवादी केन्द्रसँग एकता होइन प्रवेश
क्याटेगोरी : राजनीति
प्रतिक्रिया