Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा


काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई पदबाट निलम्बन गर्ने निर्णय गरेका हुन्।

यो निर्णयको पछाडि महानगर प्रमुख मेयर बालेन साह र गुरागाईंको शक्ति संघर्षले काम गरेको देखिन्छ । बालेन साहले गुरागाईलाई बसपार्कमा निर्माण भइरहेको भवन निर्माणको नक्सा पासमा राज्यलाई हानी पुग्ने गरी सम्झौता गरेको भन्दै महानगरपालिका प्रवेसमा रोक लगाएका थिए । गत चैत्र २१ गते गुरागाईं उपमेयर सुनिता डंगोल र वडाअध्यक्षहरुको बलमा महानगरको कार्यालय प्रवेश गरेका थिए । उनको कार्यालय प्रवेशमा नगर प्रहरी पाण्डेले अवरोध गरेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टिकरण लिएका थिए ।

स्पष्टीकरण पत्रमा पाण्डेको व्यवहारले कार्यालयको शान्तिपूर्ण वातावरणमा बाधा पुर्याएको, पदको दुरुपयोग भएको, र कानुनी दायित्वबाट विमुख भएको उल्लेख गरिएको थियो। पाण्डेको जवाफ चित्तबुझ्दो नभएको भन्दै अहिले उनलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको गुरागाईंको भनाइ छ।

नगर प्रहरी प्रमुखको निलम्बनसँगै महानगरपालिकाभित्रको आन्तरिक प्रशासनिक संकट झनै सतहमा आएको देखिन्छ।

राजुनाथ पाण्डे काठमाडौं महानगरका मेयर बालेन साहका निकट मानिन्छन्।

पाण्डेको निलम्बनलाई मेयर र प्रशासकीय अधिकृतबीचको अधिकारको द्वन्द्वसँग पनि जोडेर हेरिएको छ।

बालेन साहको नेतृत्वमा महानगरले केही कठोर र असाधारण शैलीमा काम गर्दै आएको छ, जसले विवाद पनि निम्त्याएको छ। प्रशासकीय अधिकृत गुरागाईं भने संघीय सरकारद्वारा खटाइएका कर्मचारी हुन्।

यसले गर्दा स्थानीय जनप्रतिनिधि र संघीय कर्मचारीबीचको भूमिका र प्रभावको द्वन्द्व अझ गहिरिँदै गएको देखिन्छ।

यता पाण्डे पक्षले भने निलम्बनलाई अन्यायपूर्ण र पूर्वाग्रही निर्णयको संज्ञा दिएको छ।

निलम्बनको औपचारिक सूचना सार्वजनिक भइसकेको छ र नयाँ कार्यवाहक प्रमुखको जिम्मेवारी तोक्ने प्रक्रिया सुरु गरिएको छ।
नगर प्रहरीले सञ्चालन गर्दै आएको बजार अनुगमन, सडक व्यवस्थापन, फोहोरमैला नियन्त्रणलगायत नियमित कार्यहरूमा निलम्बनको प्रभाव कति पर्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट