परराष्ट्रमन्त्री राणाबाट भएको व्यवहारको निष्पक्ष छानबिन गर्न रिपब्लिक मिडियाको माग

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले परराष्ट्रमन्त्री आरजु राणा देउवाले निर्देशक शोभा ज्ञवालीलाई फोनमार्फत धम्की दिएको एक विज्ञप्ति जारी गर्दै स्पष्ट गरेको छ। यसबारे संस्थाले एक विज्ञप्ति सार्वजनिक गर्दै गम्भीर चिन्ता र खेद प्रकट गरेको छ।
विज्ञप्तिअनुसार, नागरिक र रिपब्लिका दैनिकमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ वारेन्ट जारी गरिएको समाचार प्रकाशित भएपछि मन्त्री राणाले निर्देशक ज्ञवालीलाई फोन गरी सञ्चालकहरू र मिडियालाई धरासायी बनाइदिने धम्की दिएकी हुन्।
नेपाल रिपब्लिक मिडियाको भनाइअनुसार, बिहीबार दिउँसो १स्५३ बजे मन्त्री राणाले आफ्ना निजी सहायक कमल रावलको ह्वाट्सएपबाट निर्देशक ज्ञवालीलाई फोन गरेकी थिइन्।
त्यस टेलिफोन संवाद करिब चार मिनेट लामो थियो। सो क्रममा मन्त्री राणाले आक्रोशपूर्ण र धम्कीपूर्ण भाषा प्रयोग गरेको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “मन्त्री राणाका अभिव्यक्ति पूर्णतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छन्। स्वतन्त्र पत्रकारिता र मिडियालाई ठेगान लगाउने उद्देश्यले धम्की दिइएको देखिन्छ।”
परराष्ट्रमन्त्री राणाको आक्रोशको कारण, रिपब्लिक र नागरिक दैनिकमा प्रकाशित समाचार तथा सम्पादकीय सामग्रीहरू भएको स्पष्ट देखिएको मिडियाको भनाइ छ।
विशेष गरी, पत्रकार दिलभूषण पाठकले हिल्टन होटलको सेयरसम्बन्धी समाचारमा मन्त्री राणा र शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडिएको विषय र त्यसै सम्बन्धी उजुरीका आधारमा पक्राउ आदेश जारी भएको समाचार मन्त्रीलाई आपत्तिजनक लागेको जनाइएको छ।
निर्देशक शोभा ज्ञवालीले आफूले ती समाचार र सम्पादकीयहरू नपढेकोले एक पटक पढेर धारणा बनाउने भन्ने नम्र प्रतिक्रिया दिए पनि मन्त्री राणाले फोन संवादमा एकोहोरो रूपमा आक्रमण जारी राखेको नेपाल रिपब्लिक मिडियाको भनाइ छ।
साथै, मन्त्री राणाले पत्रकार पाठकको युट्युब च्यानल प्रेस काउन्सिलमा दर्ता नभएको भन्दै साइबर ब्युरोमार्फत कारबाही अगाडि बढाइएको जानकारी दिएकी थिइन्।
विज्ञप्तिमा भनिएको छ, “एकजना उदीयमान महिला उद्यमीमाथि मन्त्रीस्तरबाट भएको यस्तो धम्कीपूर्ण व्यवहारले गम्भीर भावनात्मक असर मात्र नभई सरकारको प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको विश्वासमा समेत गम्भीर चोट पुर्याएको छ।”
नेपाल रिपब्लिक मिडियाले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै आफ्ना समाचार सामग्रीहरू तथ्यमा आधारित हुनेमा विश्वास गर्ने स्पष्ट पारेको छ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ, “परराष्ट्रमन्त्री राणाबाट भएको व्यवहारको निष्पक्ष छानबिन गरियोस् र यस्ता व्यवहार भविष्यमा दोहोरिन नदिन सुनिश्चत गरियोस्। साथै, प्रेस स्वतन्त्रतामाथि केन्द्रमै देखिएको दम्भको अन्त्य होस् भन्ने हाम्रो माग छ।”
क्याटेगोरी : राजनीति
प्रतिक्रिया