इरानमाथि अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न नेपाल सरकारलाई वाम दलहरुको जोडदार माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहितका विभिन्न राजनीतिक दलहरुले इरानमाथि भएको सैन्य हमलाको घोर निन्दा एवं भत्र्सना गरेको छ । ११ वटा राजनीतिक दलहरुले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले इरानमाथि आक्रमण गरेको भन्दै त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन भएको ती दलहरुले बताएका छन् ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष, चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव, विप्लब सी, नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य, बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका पोलिटव्यूरो सदस्य पवन मान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (बहुमत) का कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी, वाम बुद्धिजीवी निनु चापागाईँ, राजनीतिक संवाद थालनीका संयोजक सङ्गीत श्रोता ले संयुक्त रुपमा वक्तव्य जारी गर्दै ‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास’ भएको बताएका छन् ।
वाम बुद्धिजीवी तथा वाम राजनीतिक दलहरुले वक्तव्यमा साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंक अविलम्ब बन्द गर्न र युद्धविराम गरी विश्वशान्ति कायम गरिनु पर्दछ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।
विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोज्न सबै पक्षहरुसँग ती दलहरुले आव्हान गरेका छन् ।
यसका साथै “अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ” वक्तव्यमा भनिएको छ ।
वक्तव्यको पूर्ण पाठ
गतवर्ष इजरायली विस्तारवादले प्यालेष्टाइनमाथि आक्रमण गरेर प्यालेष्टाइनको गाजालगायतका क्षेत्रहरुमा नरसंहार मच्चाएको यथार्थता सर्वविदितै छ । त्यही विषयलाई लिएर नेपालका हामी राजनीति दलहरु र नागरिक समाजको तर्फबाट प्यालेष्टाइनमाथि इजरायली हस्तक्षेपका विरुद्ध अभियान संचालन गर्दै प्यालेष्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौँ । यस घटना सेलाउन नपाउँदै यतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ । त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ । यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो । यसको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्ध आतंकको त्रास फैलिएको छ । अतः यस स्थितिमा हामी तपसिलका राजनीतिक दलहरु र वाम बुद्धिजिवीहरु साम्राज्यवादी विश्वयुद्ध र युद्ध आतंकको विरोध गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गरिनु पर्दछ भन्ने पक्षमा छौँ र विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनु पर्दछ भनि सम्बद्ध सबै पक्षहरुसँग जोडदार आव्हान गर्दछौँ । यसका साथै अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । अन्त्यमा, युद्धको विरोध गर्दै शान्तिको पक्षमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक आव्हान गर्दछौँ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया