Techie IT
Samayabaddha
आईतबार, २९ असार, २०८२

इरानका राष्ट्रपति पेजेस्कियनको आव्हान “अब पुनर्निर्माणमा लागौं”


तेहरान, जुन २५ (सिन्ह्वा) : इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै इजरायलसँगको १२ दिने युद्धको अन्त्य भएको घोषणा गरेका छन् । युद्धविराम लागू भएसँगै उनले सम्पूर्ण सरकारी निकायहरू, संघ–संस्था तथा जनतालाई अबको प्रमुख कार्य ‘राष्ट्र पुनर्निर्माण’मा केन्द्रित गर्न आह्वान गरेका हुन् ।

राष्ट्रपतिले युद्धको अन्त्यको घोषणासँगै भने, “आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम कायम गर्न सफल भयौं र इजरायलले इरानमाथि लादेको १२ दिने लामो युद्ध अन्त्य भएको छ।”

राष्ट्रपति पेजेस्कियनले स्पष्ट शब्दमा उल्लेख गरे कि इजरायलले इरानका आणविक सुविधाहरू ध्वस्त पार्ने, वैज्ञानिक पूर्वाधार नष्ट गर्ने र आन्तरिक सामाजिक उथलपुथल ल्याउने योजना बनाएको थियो, तर यी प्रयासहरू पूर्णरूपमा असफल भएका छन्।

उनका अनुसार, इजरायली र तिनका सहयोगीहरूद्वारा कब्जा गरिएका क्षेत्रहरूमा भएका सैन्य तथा प्रविधिक केन्द्रहरूको ध्वंसले एक सशक्त सन्देश सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई दिएको छ – त्यो सन्देश होस् “इरानविरुद्धको दुस्साहसको मूल्य अत्यन्तै भारी पर्छ।”

क्षेत्रीय वार्ता र शान्तिको पक्षमा इरान

मंगलबार संयुक्त अरब इमिरेट्स (UAE) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्दै राष्ट्रपति पेजेस्कियनले इरान क्षेत्रीय शान्तिको पक्षमा रहेको र अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै विषयवस्तुमा संवाद गर्न तयार रहेको कुरा पुनः दोहोर्याए।
उनले भने, “हामी वार्ताको टेबलमा छौं, तर हाम्रो स्वतन्त्रता, सुरक्षा र सम्प्रभुतालाई चुनौती दिने जुनसुकै कार्यको जवाफ हामीले दिन सक्छौं।”

इरानी राष्ट्रपतिले अमेरिका र इजरायल संयुक्त रूपमा मुस्लिम देशहरूबीच विभाजन, अविश्वास र वैमनस्य फैलाउने रणनीति कार्यान्वयन गर्दैछन्। तर उनले भनेकी इरान क्षेत्रीय ऐक्यबद्धता, स्थायित्व र साझा विकासको पक्षमा दृढ रहेको छ।
उनको भनाइमा, “हामी विकासमार्फत क्षेत्रीय एकता मजबुत बनाउन चाहन्छौं, किनकि यो नै स्थायी शान्तिको आधार हो।”

१२ दिनको युद्ध र क्षति

जुन १३ मा इजरायली वायुसेनाले इरानका विभिन्न रणनीतिक क्षेत्रहरूमा हवाई आक्रमण थालेको थियो। यस क्रममा फोर्डो, नटान्ज र इस्फहानस्थित आणविक तथा सैन्य स्थलगत संरचनामा व्यापक क्षति पुगेको थियो। यस आक्रमणमा वरिष्ठ सैन्य कमान्डर, आणविक वैज्ञानिकहरू र सर्वसाधारण नागरिकहरू पनि मारिएको पुष्टि भएको छ।

इरानले तत्क्षण जवाफी कारबाहीस्वरूप इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमण गरेर कैयौँ सैनिक चौकीहरूमा क्षति पुर्याएको थियो। इजरायलका केही मुख्य शहरहरूमा धमाका र अग्निसंयोगसमेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
शनिबार अमेरिकी एयर फोर्सले इरानी आणविकस्थलहरूमा बम वर्षा गरेपछि तनाव चरम सीमामा पुगेको थियो। यसको जवाफस्वरूप इरानले सोमबार कतारस्थित अमेरिकी सैन्य आधारशिविरमा मिसाइल आक्रमण गरेको थियो।

संकट बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायको दबाबपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दुई पक्षबीच युद्धविरामको प्रस्ताव गरेका थिए। इरान र इजरायल दुवैले यस प्रस्तावलाई स्वीकार गरेपछि मंगलबारदेखि युद्धविराम लागू भएको छ।
यस ऐतिहासिक निर्णयसँगै पश्चिम एसियाको तनावग्रस्त भू–राजनीतिक अवस्था केही शान्त बनेको छ। तर विश्लेषकहरूका अनुसार दीर्घकालीन स्थायित्वमाथि अझै शंका छ ।

इरानी राष्ट्रपति पेजेस्कियनले आफ्नो सम्बोधनको अन्त्यमा भने, “यो युद्धले हामीलाई धेरै गुमाउनु पर्यो – मानवीय, प्रविधिक र संरचनागत क्षति। तर हाम्रो आत्मबल अझ बलियो बनेको छ। अबको हाम्रो अभियान पुनर्निर्माण, आत्मनिर्भरता र राष्ट्रिय एकताको हो।”
इरानले युद्धपछि थालिएको यो पुनर्निर्माण यात्रा कस्तो हुन्छ भन्ने कुरा अबको दिनहरूले देखाउनेछ। तर राष्ट्रपतिको शब्दमा एउटा कुरा स्पष्ट छ – इरान लड्न मात्र होइन, उठ्न पनि तयार छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट