Techie IT
Samayabaddha
मंगलबार, १७ असार, २०८२

संघीय निजामति सेवा विधेयकमा षड्यन्त्र, दोषीमाथि कारबाही हुनु आवश्यक ः अध्यक्ष दाहाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने प्रक्रियामा गम्भीर चलखेल र षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय निजामति सेवा विधेयकमा भएको षड्यन्त्रलाई गम्भीर रूपमा लिँदै छानबिन र कारबाही आवश्यक रहेको जनाएका छन् ।

अध्यक्ष प्रचण्डले विधेयकमा गम्भीर छेडखानी भएको भन्दै यसको उद्देश्य संघीय शासन व्यवस्थालाई कमजोर पार्ने र संविधानबाट स्थापित जनताका अधिकारहरूलाई कुण्ठित गर्ने रहेको दाबी गरे । उनका अनुसार विधेयकमा गरिएको संशोधन र प्रक्रियागत हेरफेर सामान्य नभई एक किसिमको योजनाबद्ध षड्यन्त्रको हिस्सा हो ।

उनले भने, ‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । संघीय निजामति विधेयकमा पनि षड्यन्त्र भएको छ । कसले बदमासी ग¥यो भन्ने छानबिन गरी कारबाही गरिनुपर्छ ।’

प्रचण्डका अनुसार संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई कमजोर पार्ने प्रयास निरन्तर भइरहेको छ । उनले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरू फेरि सक्रिय भएर जनआन्दोलन र जनयुद्धबाट आर्जन गरिएका अधिकारहरू मेटाउने षड्यन्त्र निरन्तर गरिरहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, नीति, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । उनले वाइसिएललाई पार्टीको उत्तराधिकारी संगठनको रूपमा जनतासँग प्रत्यक्ष जोडिएको शक्तिशाली युवाशक्तिको रुपमा विकास गरेर अगाडि बढ्न निर्देशन दिए ।

उनले भने, ‘वाइसिएल प्रतिक्रियावादी षड्यन्त्र चिर्ने संगठन हो । पार्टीको आठौं महाधिवेशनले पास गरेको विचार र लाइनलाई जनतामाझ पुर्याउन वाइसिएलको विशेष जिम्मेवारी छ ।’

अध्यक्ष प्रचण्डले अहिलेको अवस्था झन् जटिल बन्दै गएको भन्दै वर्गसंघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गरे । उनले नेतृत्व र विचारको रक्षा गर्दै क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ सबै एकजुट हुनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले वर्षा सकिएपछि मध्यपहाडी लोकमार्ग अभियानलाई पूर्णता दिने योजना रहेको जानकारी गराउँदै त्यसपछि पार्टीको संगठन निर्माणको विशेष अभियान सुरु गरिने जानकारी दिए । उनले त्यस अभियानमा वाइसिएललाई विशेष सक्रियता देखाउन निर्देशन दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट