Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

कम्युनिष्ट एकता र असहमतिको समाज रेखा


काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितका नौ कम्युनिष्ट तथा बामपंथी शक्तिहरूले १८ बुंदे सहमतिसहित एउटै कम्युनिष्ट केन्द्र बनाएर अर्थात पार्टी एकता गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । उनीहरूबीच कार्तिक १९ गते एकताको राष्ट्रिय सम्मेलन हुने छ ।
यो खुशीको कुरा हो कि कम्युनिष्ट आन्दोलनका फरकफरक धारहरूले एउटै पार्टी बनाएर आफ्नो शक्ति सुदृढ गर्ने प्रयत्न गरेका छन् । यसले कम्युनिष्ट तथा बामपंथी जनमतलाई एउटा उत्साह दिने विश्वास गर्न सकिन्छ ।

तर एकता हुने धारहरूभित्र आन्तरिक असन्तुष्टि पनि देखिएको छ । खासगरी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सिङ्गो भएर एकता प्रक्रियामा सहभागी हुन सकेनन् ।

एकीकृत समाजवादीबाट माधव नेपालसहित बलियो बहुमत पक्ष एकतामा सामेल हुँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष छुटेको छ । त्यस्तै विप्लव नेकपाका प्रभावशाली नेताहरू चिरन पुन र कर्णजीत बुढाथोकी पक्षले छुट्टाछुट्टै विद्रोह गरेर एकतामा सामेल हुँदा विप्लव पक्ष छुटेको छ ।

यता एकताका आधारहरूमा असहमति जनाउँदै माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो पक्ष समाहित हुन नसक्ने बताएका छन् ।
यो एकता प्रक्रियाले जनयुद्ध र जनआन्दोलनसहित पुँजीवादी–जनवादी क्रान्तिसँगै समाजवाद उन्मुख हुन अगाडि बढेका कम्युनिष्ट तथा बामपंथीहरूको बलियो उपस्तिथि र शक्ति त बनाएको छ तर अझ बलियो र सुदृढ एकीकृत उपस्तिथिका लागि सम्बन्धीतहरूले अझै ठन्डा भएर सोच्नुपर्ने छ ।

माओवादी केन्द्रले जस्तै एकीकृत समाजवादीले पनि कम्युनिष्टहरूबीच क्रान्तिकारी धु्रबीकरण गर्ने तथा समाजवादी मोर्चामा रहेका दलहरूबीच एकता गर्ने पुरानो एकमत निर्णय नै बस्तुगत परिस्थितिका कारण तत्काल कार्यान्वयन गर्न लागिएको बताएका छन् । विप्लवले त दुईवर्ष अगाडि नै यस्तो निर्णय अगाडि सार्दै एकताको सक्रिय प्रयास थाल्नुभएको हो ।

यी तीनै धाराबीच अहिलेको एकताबारे सिङ्गो मतैक्यता हुन नसकेको कारण न नेतृत्वले न असहमत पक्षले, जनताले बुझ्ने भाषामा प्रष्ट पार्न सकेका छन ।

तर मुलुकको वर्तमान राजनीतिक, भूराजनीतिक, अर्थ राजनीतिक र समाजन्यायीक सांस्कृतिक चेतनाबाट हेर्दा यो एकताले आफ्नो शक्तिलाई सावित गर्न सक्नुपर्ने चुनौती छ । जेनजी प्रदर्शन र त्यसपछिको सत्तापलटपछि सामाजिक अवधारणालाई यसरी ‘गाइड’ गरिएको छ कि अब पुराना नेता र पुराना पार्टीबाट केही हुन सक्दैन । त्यसर्थ हजारौंहजारको बलिदान दिएको जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका राजनीतिक उपलब्धिलाई उल्ट्याउने प्रतिगमनको डिलमा मुलुक पुगेको छ ।

यसलाई पुनः संघीय गणतान्त्रिक मुल्यको संवैधानिक दायरामा ल्याएर देशलाई बैज्ञानिक समाजवादको गन्तव्यमा हिंडाउने चुनौती राजनीतिमा पैदा भएको छ । संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने काम सम्पन्न नहुँदै, सहिद, बेपत्ता, घाइते, अपाङ्ग, युद्धपीडितको पूर्ण सम्बोधन नहुँदै जेनजी प्रदर्शनका सहित, घाइते र त्यस आवरणमा भएका अपराधलाई न्याय तथा निरुपण गर्ने चुनौती थपिएको छ ।

पुनः भदौ २२ मा पुगेर मात्र त्यो संभव छैन । किनकि भदौ २३ संविधानको उद्देश्य राम्रो हुँदाहुँदै पनि त्यसको भद्दातामा रमाएका गणतान्त्रिक नेताका चरित्रका कारण आएको परिघटना हो । यसमा भूराजनीतिक र स्वार्थसिद्दीका अवयबहरू निश्चितै जोडिएका छन्, तर सत्ताधारी कुशासन नै यसको मुल कारण हो । त्यसैले संविधानको प्रगतिशील संशोधन र त्यसनिसृत व्यवहार गर्ने नेतृत्वको कठोर तथा हाताहाती संकल्प बिना जनताले अब पत्याउँदैन ।

त्यो भनेको जेनजी प्रदर्शन तथा मागका आधारमा दलहरू पुनसर्संरचित र रुपान्तरित हुनु हो । नौ कम्युनिष्ट तथा बामपंथी दलहरूको एकता प्रक्रियाले त्यस आधारलाई कसरी व्यवहारिक पक्रिन सक्छ भन्ने सन्दर्भले नै यो एकताको भविष्य निर्धारित हुनेछ । एकता त हिजो नेकपा (एमाले) र माओवादी केन्द्रबीच पनि भएकै हो । त्यसको जनउत्साहले झण्डै दुईतिहाईको सरकार पनि बनाएको हो । तर साँढे दुईवर्ष बीचमै त्यो उत्साहलाई कसरी धुलिसात पारियो र फुट तथा अराजकताहरू निर्माण गर्ने जग बनाईयो, सबैलाई भलिभाँति थाहा छ ।

हिजो त्यो एकता निर्माणको ‘कि पर्सन’ जनार्दन शर्मा प्रभाकरले आज त्यो भन्दा उन्नत सैद्धान्तिक सहमतिसहितको एकताको अपनत्व लिन नसक्नुको कारण के हो ? बैज्ञानिक समाजवादी सिद्धान्त आधारित भएर बामपंथीबीच क्रान्तिकारी ध्रुवीकरण हुनुपर्छ भन्ने झलनाथ खनाल र घनश्याम भुसाल पक्ष यो एकतामा किन आउन नचाहेका हुन् ? अनि त्यही भन्ने विप्लव किन अटाउन नसकेका हुन्र ? र, पार्टी रुपान्तरण तथा पुनर्संरचित गर्छाैं भनेर मंसिरमा विशेष महाधिवेशन तोकेको माओवादी केन्द्रले छ महिना पछि हुने भनिएको एकता महाधिवेशन पर्खिएर त्यो सन्दर्भ टार्न खोजेको हो ?

यसको उत्तर पनि तत्कालै आउनुपर्ने छ । नत्र फागुन २१ को चुनावका लागि वा यदी त्यो चुनाव हुन नसकेको अवस्थाका लागि पनि जनतालाई भने प्रतिक्रान्तिको अर्कै ‘माइन्ड सेट’तिर डोहो¥याईंदैछ, सबैलाई चेतना होस् ।


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट