बेलायती प्रधानमन्त्री स्टार्मरको नेतृत्वप्रति पार्टीभित्रैबाट चर्काे दबाब, प्रतिकारका लागि स्टार्मरको तयारी
लण्डन । बजेट प्रस्तुतिको मिति नजिकिँदै गर्दा बेलायतका प्रधानमन्त्री किअर स्टार्मर र उनको नेतृत्व चर्काे संकटमा परेको समाचार बाहिरिएको छ । लेबर पार्टीभित्रैबाट उनीविरुद्ध नेतृत्व परिवर्तनको प्रयास तिव्र ढंगले चलिरहेको चर्चा छ, तर स्टार्मरका नजिकका सहयोगीहरूले यस्तो प्रयासको दृढ प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
बेलायतमा अबका करिब १५ दिनपछि संसदमा पेश हुने आगामी बजेटलाई प्रधानमन्त्रीको राजनीतिक भविष्यसँग जोडेर हेरिँदैछ । पार्टीभित्रका असन्तुष्ट सांसदहरूको समूहले बजेटपछि नेतृत्व फेर्ने योजना बनाइरहेको भनाइ सार्वजनिक भएको छ । स्टार्मरका समर्थकहरूका अनुसार यो चालले लेबर पार्टीलाई अझै कमजोर बनाउनेछ र सरकारलाई थप संकटमा धकेल्नेछ ।
डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालयले पछिल्ला दिनमा निकै प्रतिरक्षात्मक र तनावपूर्ण माहोल बन्दै गएको बताउँछन् । उनीहरूका अनुसार यो सरकार स्वयं आन्तरिक विवादमा फसेको प्रमाण हो, जसले नीतिगत काम अघि बढाउन कठिनाइ देखिएको छ ।
लेबर पार्टीभित्र नयाँ नेतृत्वका सम्भावित विकल्पबारे छलफल भइरहेको छ । स्रोतहरूका अनुसार पार्टीभित्रैका केही मन्त्रीहरूः स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङ, गृहमन्त्री शबाना महमूद र ऊर्जामन्त्री एड मिलिब्यान्ड पार्टी नेतृत्वका सम्भावित उम्मेदवारका रूपमा चर्चा भइरहेको छ ।
यसबाहेक, पूर्व यातायात मन्त्री लुईस हेगको नाम पनि संभावित नेतृत्वको चर्चामा छ । एक मन्त्रीका अनुसार, “स्टार्मरले यस पटक जुनसुकै चुनौतीको सामना गर्नेछन् । सन् २०२१ मा उपनिर्वाचनमा हारपछि उनले राजीनामाबारे सोचेका थिए, तर अहिले परिस्थिति पूर्णतः फरक छ ।”
लेबर पार्टीका केही सांसदहरूले अबको केही महिनामा हुन लागेको स्कटल्यान्ड, वेल्स र इंग्ल्यान्डका स्थानीय चुनावमा खराब परिणाम आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार, यदि ती चुनावमा पार्टीले हार बेहो¥यो भने स्टार्मरको नेतृत्वमा रहेको सरकार थप कमजोर हुनेछ । त्यसैले केही नेताहरूले अहिले नै नेतृत्व फेर्ने तयारी सुरु गर्नुपर्ने धारणा राखेका छन् ।
तर प्रधानमन्त्री स्टामरका समर्थकहरू यो विचारको विरोध गर्दै त्यस्तो कदमले पार्टीलाई विभाजन गर्ने र चुनावी क्षमतामा नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार, “स्टार्मर अहिले पनि चुनाव जिताउन सक्षम दुईजना नेतामध्ये एक हुन्, र उनलाई हटाउने प्रयास राजनीतिक आत्मघाती कदम” हुनेछ ।
प्रधानमन्त्रीका निकटस्थहरूका बीच स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङको महत्वाकाङ्क्षा विशेष रूपमा चर्चामा छ । पार्टीभित्रका केही स्रोतहरूले भनेका छन् — “यदि स्ट्रीटिङले हिम्मत जुटाए र अघि बढे भने, उनी क्रिसमसअघि नै प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ ।”
तर स्ट्रीटिङका प्रवक्ताले यी सबै अड्कलहरू अस्वीकार गरेका छन् ।
स्टार्मरका समर्थकहरू नेतृत्व फेर्ने हल्लाले केवल पार्टीभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नकारात्मक प्रभाव पार्न सक्ने बताउँछन् । उनीहरुले नेतृत्व संकटको चर्चाले लगानीकर्ताको विश्वास घटाउनेछ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै सुधारिएको सम्बन्ध पनि कमजोर पार्न सक्छ ।
साथै, सर्वेक्षणहरूमा प्रधानमन्त्री स्टार्मरको लोकप्रियता घटिरहेको देखिएको छ । पछिल्ला मतसर्वेक्षणमा लेबर पार्टीको समर्थन २० प्रतिशतभन्दा तल झरेको बताइन्छ ।
किअर स्टार्मरका लागि अहिलेको अवस्था राजनीतिक दृष्टिले अत्यन्त चुनौतीपूर्ण छ । एकातिर पार्टीभित्रको असन्तुष्टि र नेतृत्व परिवर्तनको चर्चा, अर्काेतिर जनमत सर्वेक्षणमा घट्दो लोकप्रियता — यी सबैले उनलाई दबाबमा पारेको छ । राजनीतिक पर्यवेक्षकहरूको भनाइमा, आगामी बजेट र त्यसपछिका हप्ताहरू नै स्टार्मरको भविष्य निर्धारण गर्ने निर्णायक समय हुनेछ । बीबीसीको सहयोगबाट
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति



















प्रतिक्रिया