महाधिवेशन विवादले थलिएको कांग्रेसको आज बैठक ! होला त ठोस निर्णय ?
काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नेपाली कांग्रेसको पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा बस्ने भएको छ ।
पार्टीभित्र नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा बनेको दीर्घ विवादका कारण लम्बिँदै आएको यो बैठकलाई ‘दिशा तय गर्ने निर्णायक चरण’को रूपमा हेरिएको छ । बैठक लामो समयदेखि रोकिँदै आएको थियो ।
नेपाली कांग्रेसभित्र यतिबेला नेतृत्वको लडाई छ । कांग्रेस विधान अनुसार महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा उठ्न पाउने छैनन् । सभापति देउवाले अहिले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिए पनि महाधिवेशनपछि देउवाको सभापतिमा साथ कसलाई हुने हो भन्ने निश्चित भइसकेको छैन ।
जेनजी विद्रोहको म्यान्डेट भनेको नयाँ युवाहरुलाई पार्टीभित्र अवसर दिनुपर्छ भन्ने हो । तर युवा नेता महामन्त्री गगन थापालाई नेतृत्व दिएर निर्वाचनमा जाँदा जनताले नेपाली कांग्रेसलाई पत्याउँछन भन्ने विश्वास पुराना नेताहरुलाई पटक्कै छैन ।
यही अनिश्चितता र अविश्वासका कारण महाधिवेशनको विषयले निरन्तर विवादको रूप लिएको विश्लेषकहरूको टिप्पणी छ । बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विभिन्न धारका नेतासँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् । तर नेताहरूको आ–आफ्नै अडान हुँदा दीर्घकालीन समाधान ल्याउने सहमति जुट्छ कि जुट्दैन भन्ने नै आजको मुख्य प्रश्न बनेको छ ।
गत असोज २८ देखि सुरु भएको बैठक महाधिवेशनको विकल्प टुंगो नलाग्दा ‘निर्णयविहीनता’को सङ्केत बनेको थियो । आजको बैठकले यही निर्णयविहीनतालाई अन्त्य गर्छ कि फेरि नयाँ मोडमा धकेलिन्छ–सर्वत्र चासोको विषय बनेको छ ।
महामन्त्री गगन थापाले पुस १६–१९ मा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० को तारिख प्रस्ताव गरेका छन् । यी दुई प्रस्तावलाई क्रमशः इतर समूह र संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको हो ।
विवाद मिलाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा अन्य शीर्ष नेताहरू मध्यमार्गी विकल्प खोज्न जुटिरहेका छन् । आज दिउँसोभित्र सहमतिको नयाँ प्रस्ताव आउन सक्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया