Techie IT
Samayabaddha
आईतबार, २१ मंसीर, २०८२

मधेश प्रदेशमा आज मुख्यमन्त्री टुंगो लगाउने अन्तिम दिन, काँग्रेसको सम्भावना बलियो


जनकपुर । मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सात दलीय गठबन्धनले मधेश प्रदेश सरकार गठन गर्ने भएको छ । तर मुख्यमन्त्रीको विषयमा बिहीबार भएको सात दलीय गठबन्धनबाट टुंगो नलागेपछि पुनः शुक्रबार बसेर सर्वसम्मत रुपमा निर्णय गर्ने भएको छ ।

नेपाली कांग्रेस र लोसपा नेपालले मुख्यमन्त्री पदमा अडान कायमै राखेपछि बैठक शुक्रबार बस्ने गरी स्थगित भएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए । कांग्रेसले ठूलो दलको हैसियतमा मुख्यमन्त्रीका लागि दाबी गरेको छ भने लोसपाका नेता जितेन्द्र सोनलले पनि आफ्नो अडान कायमै राखेपछि बिहीबार दिनभर भएको बैठक निष्कर्षविहीन भएको छ ।

बिहीबार भएको सात दलीय गठबन्धनको बैठकमा कांग्रेस र लोसपाले मुख्यमन्त्री पदको दाबी गरे पनि अन्य पाँच दल भने कुनै पनि दल र नेताको समर्थनमा खुलेका छैनन् । प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि आह्वान गर्दै शुक्रबारसम्मका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न भनेका छन् । यससंगै सात दलीय गठबन्धनबीच मुख्यमन्त्री चयनमा गम्भीर बहस भएको छ । यसअघि नै मुख्यमन्त्रीका लागि लोसपाबाट घोषित जितेन्द्र सोनल नै छन् भने कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव पनि मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् ।

सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा लिए लगत्तै कांग्रेस, लोसपा नेपाल र नेकपा माओवादी केन्द्रले समेत मुख्यमन्त्री पदका लागि दाबी गरेका छन् । तर अन्तिम समयमा आएर माओवादी भने ब्याक भएपछि कांग्रेस र लोसपाले भने आ– आफ्नो कायमै राखेका छन् । मुख्यमन्त्री बन्नका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार साँझतर्फ कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत फोन वार्ता गरी जितेन्द्र सोनलका पक्षमा समर्थन मागेको स्रोतले जनाएको छ ।

स्रोतको अनुसार सभापति देउवाले मुख्यमन्त्रीका लागि बचन नदिए पनि लोसपाको पक्षमा सकारात्मक नै देखिएका थिए । तर मधेश प्रदेशमा भने कृष्णप्रसाद यादवले आफ्नो अडान कायमै राखेपछि लोसपाको तर्फबाट सोनलले पनि आफ् नो अडानबाट पछि हट्न चाहेका छैनन् । बिहीबार दिनभर भएको सात दलीय गठबन्धनको बैठकमा घटक दलहरुले प्याकेजमै सहमति गर्नु पर्ने अडान समेत राखेका छन् । सोही अनुसार माओवादीले मुख्यमन्त्री पदबाट आफ्नो दाबी छाडेको एक नेताले बताए ।

लोसपा र कांग्रेस पार्टीभित्र मुख्यमन्त्री विषयलाई लिएर एकमत छैनन् । दुबै पार्टीभित्र रहेका विभिन्न समूह सम्भावित उम्मेदवारको खोजी पनि गर्न थालिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राईनले नयाँ सरकारको नेतृत्व लोसपाले गर्ने दाबी गरे ।

त्यस्तै नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले गठबन्धनभित्र सबैभन्दा ठूलो दल कांग्रेस पार्टी भएकाले नेतृत्व दाबी स्वाभाविक रहेको प्रतिक्रिया दिए । उनले भने, “हाम्रो दलको दाबी रहनेछ, तर यसमा सबै दलको सहमति आवश्यक छ । ठूलो दललाई नेतृत्व दिए लोकतन्त्र बलियो हुन्छ, र मधेश प्रदेशमा पनि आर्थिक समृद्धि तथा सुख–शान्तिको मार्ग खुल्ने विश्वास छ ।”

त्यस्तै, जनता समाजवादी पार्टी नेपाल ९जसपा० मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले मुख्यमन्त्रीका लागि आफ्नो दलको कुनै दाबी नरहेको बताए । उनले अबेर साँझसम्म चलेको सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीको टुंगो नलागे पनि शुक्रबार बिहानसम्ममा टुंगो लगाउने सहमति भएको स्पष्ट पारे । उनका अनुसार दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न जसपाले “अभिभावकीय भूमिका” निर्वाह गर्नेछ । उनले थपे, “मुख्यमन्त्रीका लागि जितेन्द्र सोनल र कृष्ण प्रसाद यादव गरी दुई नाम आएका छन् । यसबारे छलफल जारी छ, शुक्रबार बिहानसम्ममा सहमति बनाएर प्रदेश प्रमुख समक्ष दाबी पेश गरिनेछ ।”

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले मुख्यमन्त्रीका लागि आफ्नो दलको पनि दाबी रहेको बताए पनि सबै दलबीच प्याकेजमै सहमति गर्न आफूहरुको माग रहेको बताए ।

त्यस्तै जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्रीका लागि दुई जनाको नाम आए पनि सहमति हुन अझै समय लाग्ने बताए । स्रोतको भनाइ अनुसार कांग्रेस र लोसपा बाहेकका पाँच दल बसेर मुख्यमन्त्रीको विषयमा टुंगो लगाउने र सोही निर्णयलाई सबै दलले स्वीकार गरी अघि बढ्ने आन्तरिक निर्णय गरिएको छ ।

सात दलीय गठबन्धनमा कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । यता एमाले मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका निर्वतमान मुख्यमन्त्री सरोज कुमार यादवले जो सुकैको नेतृत्वमा सरकार गठन भए पनि आफ्नो पार्टीको समर्थन रहने जनाए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट