Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

नेकपाको सन्देश सभाले दिएको सन्देश:निर्वाचन सार्न खोजिए चुप लागेर बस्दैनौं,


नेकपाको बागमती, सम्पर्क समन्व र उपत्यका विशेष प्रदेशको संयुक्त आयोजनामा पौष ५ गते काठमाडौंको भृकुटीमण्डपमा एक सन्देश सभा सम्पन्न गरेको छ । पौषको चिसो मौसमका बीच छोटो समयको तयारीमा नेकपाले गरेको यो सन्देश सभामा जनसमुदायको उपस्थितिलाई हेर्दा आगामी निर्वाचनमा नेकपा शक्तिशाली भएर उदाउने अड्कलबाजी राजनीतिक वृतमा चल्न थालेको छ ।

एकता सन्देश सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका दुई संवेदनशील विषयलाई एकैसाथ जोडेर कडा सन्देश दिएका छन्, एक त उनले जेन–जीलाई लिएर भइरहेको राजनीतिक स्टन्टबाजी र निर्वाचन सार्ने हल्ला ।

प्रचण्डले सबैभन्दा पहिला जेन–जीको विषय जोडतोडले उठाएका थिए । पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा जेन–जीलाई आफ्नो पक्षमा देखाउने होड चलिरहेको सन्दर्भमा उनले कडा शब्दमा भने, जेन–जी कसैको पेवा होइन । कुनै पनि व्यक्ति वा समूहले आफूलाई जेन–जीको प्रतिनिधि भनेर प्रस्तुत गर्नु भ्रम मात्रै भएको उनको ठहर थियो । जेन–जी एउटा उमेर समूह हो, कुनै पार्टीको निजी सम्पत्ति होइन भन्दै उनले प्रतिनिधित्वको मापदण्ड स्टन्ट र भाषण होइन, विचार र राजनीतिक एजेन्डा हुनुपर्नेमा जोड दिए । त्यो एजेण्डा नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको प्रचण्डले दाबाका साथ प्रस्तुत गरे ।

प्रचण्डले जेन–जीका असली प्रतिनिधि “नेपाली कम्युनिस्ट पार्टी” भएको भन्दै सार्वजनिक रूपमा देखिने केही पात्रहरूप्रति लक्षित गर्दै त्यस्ता स्टन्ट तत्काल बन्द गर्न चेतावनी दिए । उनका अनुसार कसले जेन–जीको प्रतिनिधित्व गर्छ भन्ने प्रश्न उसको राजनीतिक इतिहास, संघर्ष र प्रतिबद्धतासँग जोडिएको विषय हो, न कि सामाजिक सञ्जालको लोकप्रियता वा क्षणिक चर्चामा ।

प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक भूमिकालाई स्मरण गराउँदै भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनका लागि लड्ने र उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको अधिकारका लागि बलिदान दिने शक्ति नै जेन–जी पुस्ताको वास्तविक अभिभावक भएको दाबी गरे । उनले स्पष्ट रूपमा भने, जेन–जीका एजेन्डा बोकेको शक्ति नेपाली कम्युनिस्ट पार्टी नै हो, अरू कोही होइन । यो भनाइसँगै उनले आफूहरूलाई जेन–जीको प्रतिनिधि भन्दै हल्ला गर्नेहरूको पृष्ठभूमि र इतिहास आफूहरूलाई राम्रोसँग थाहा भएको पनि बताए ।

उनको भाषणको अर्काे महत्वपूर्ण पक्ष जेन–जी स्वयंलाई गरिएको सम्बोधन थियो । प्रचण्डले युवापुस्तालाई भ्रममा नपर्न आग्रह गर्दै स्टन्टबाजहरूको होहल्लाको पछि नलाग्न चेतावनी दिए । यदि जेनजी युवाहरू भ्रममा परे भने त्यसको असर केवल उनीहरूमा मात्र सीमित नहुने, देश नै दुःख पाउने प्रचण्डको भनाई थियो ।

त्यस्तै प्रचण्डले देशमा फागुन २१ को निर्वाचन सार्न खोजिए आफूहरु चुप लागेर नबस्ने पनि सन्देश दिएका छन् । देशभरका नेकपाको सन्देश सभामा उर्लिएका जनसमुदायहरु निर्वाचन सारिए सडकमा ओर्लिने प्रचण्डले चुनाव नचाहने दल र सरकारलाई चेतावनी दिएका छन् । घोषित मितिमा निर्वाचन हुनैपर्छ, नत्र संविधान अझ बढी खतरामा पर्ने उनको भनाइथियो । नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा रहेको र पूर्वदेखि पश्चिमसम्म आयोजित सन्देश सभाहरूमा शान्तिपूर्ण चुनावको अपिल गर्दै आएको उल्लेख गर्दै उनले सरकारले कुनै तर्क वा बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न खबरदारी गरेका छन् ।

संयोजक प्रचण्डले नेकपा एमालेलाई भित्र भित्र निर्वाचनको तयारी गर्दै बाहिर संसद पुनस्र्थापनामा लागेको भन्दै डबर स्यान्डको रोल बन्द गर्न चेतावनी दिएका छन्

भृकुटीमण्डपमा देखिएको जनसहभागितालाई खेलाँची नठान्न उनले सरकार र राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सचेत गराए । “धनगढीदेखि काठमाडौंसम्मको विशाल उपस्थितिलाई हल्का रूपमा नलिइयोस”, भन्दै उनले संविधान बारम्बार मिच्ने प्रयास भयो र फेरि निर्वाचन सार्न खोजियो भने आफूहरू चुप लागेर नबस्ने स्पष्ट पारे । उनका शब्दमा यदि यस्तो अवस्था आयो भने आन्दोलन सडकमा आउनेछ ।

प्रचण्डले जनयुद्धको नेतृत्व लिएर र जनआन्दोलनको संयोजन गरेर साढे दुई सय वर्ष पुरानो राजतन्त्रलाई समाप्त पार्ने र गणतन्त्र स्थापना गर्ने शक्ति नै नेपाली कम्युनिस्ट पार्टी भएको भन्दै सबैलाई स्मरण गराए । काठमाडौं लगायत देशैभरि

भएको सन्देशसभाको उपस्थितिले जनयुद्धको तागत र जनआन्दोलनको तागतलाई एकै ठाउँमा ल्याउने नेतृत्व अहिले पनि जीवित रहेको सन्देश दिन खोजिएको उनको भाषणबाट प्रष्ट झल्किन्थ्यो ।

देश दुर्घटनातर्फ धकेलिने अवस्था आए नेपाली कम्युनिस्ट पार्टी रमिते नबन्ने प्रचण्डको भनाईले राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ ।

प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीले चुनाव जित्छौं कि भनेर अताल्लिएका केही शक्तिहरू अहिले चुनावै नहोस भन्ने षड्यन्त्रमा रहेको पनि खुलाशा गरे । उनले कांग्रेस र एमालेप्रति संकेत गर्दै आफूलाई ठूला पार्टीहरु आगामी निर्वाचनमा कमजोर हुने डरले लोकतान्त्रिक प्रक्रियाबाट भाग्न खोजिरहेको आरोप लगाए । त्यसैले पुरानो संसद फर्किए आफूहरू बलियो हुन्छौं भन्ने सोंच र भ्रममा तिनीहरु रहेको प्रचण्डको भनाइथियो ।

समग्रमा, भृकुटीमण्डपको सभाबाट प्रचण्डले दिएको सन्देश स्पष्ट थियो—जेन–जीलाई प्रयोग गरेर राजनीति गर्ने प्रयास स्वीकार्य छैन र निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया हो, जससँग खेलवाड गर्न खोजिए त्यसको प्रतिरोध हुनेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट