समानुपातिक सूचीमाथि जेनजीको असन्तोषः रास्वपामाथि नैतिक प्रश्न
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएका समानुपातिक उम्मेदवार सूचीले यसपटक केवल पुराना दलहरू मात्र होइन, ‘नयाँ र वैकल्पिक राजनीति’को दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत विवादको केन्द्रमा तानेको छ । दलभित्र र दलबाहिरका जेनजी अभियानीहरूले समानुपातिक सूचीलाई लिएर तीव्र असन्तोष व्यक्त गर्दै यसले संविधानको मूल मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन् ।
समानुपातिक प्रतिनिधित्व प्रणाली सदियौंदेखि राज्यको शक्ति संरचनाबाट बाहिर पारिएका समुदाय– दलित, आदिवासी–जनजाति, मधेस, सुदूरपश्चिम, महिला तथा पिछडिएका वर्गको आवाज संसदमा पुर्याउने ऐतिहासिक उपलब्धि हो । तर अहिले यही प्रणालीलाई दलहरूले ‘नातावाद, कृपावाद र पहुँचवाद’को माध्यम बनाइरहेको आरोप जेनजी प्रतिनिधिहरूको छ ।
समानुपातिक सांसद बिक्री केन्द्र बन्यो ः रक्षा बम
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा निकै भावनात्मक र तीखो छ । दलहरूको समानुपातिक सूची देखेर आफू ‘मन खिन्न’ भएको बताउँदै उनले लेखेकी छन्–
“सदियौंदेखि पछाडि पारिएका समुदायको आवाज सदनमा पुर्याउने उद्देश्यले बनाइएको समानुपातिक प्रणाली आज दलहरूको सांसद पद बिक्री केन्द्र बनेको छ । नातेदार भर्ती गर्ने माध्यम बनेको छ ।”
सुदूरपश्चिमको प्रतिनिधित्वको प्रश्न उठाउँदै उनले राज्यको केन्द्रबाट टाढा परेको भूगोल अझै पनि उपेक्षित रहेको पीडा व्यक्त गरेकी छन् । राजधानीमा बस्दैमा सबै कुरा ठीक भएको भ्रम तोड्नुपर्ने भन्दै उनले लेखेकी छन् –“मेरो सुदूर अझै पनि सुदूर नै छ । यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।”
अन्धसमर्थन अस्वीकारः भावना राउत
जेनजी अभियानी भावना राउतले विशेषगरी रास्वपाको समानुपातिक सूचीप्रति गम्भीर प्रश्न उठाएकी छन् । सूची सच्याइएन भने समानुपातिकतर्फ कुनै पनि दललाई अन्धाधुन्ध समर्थन नगर्ने उनको स्पष्ट चेतावनी छ ।
“यो समानुपातिक सूची नसच्याइए हाम्रो निर्णय स्पष्ट छ—प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ, समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन ।”
उनले स्व. उज्जवल थापाको राजनीतिक चेतनालाई स्मरण गर्दै अन्धभक्त हुनु मुलुकप्रति धोका भएको बताएकी छन् । रास्वपाले बहुमत पाओस्, बालेन साह प्रधानमन्त्री बनून् भन्ने चाहना हुँदाहुँदै पनि नैतिक मूल्य साटेर समर्थन गर्न नसकिने उनको अडान छ ।
भावना राउत प्रश्न छ– “निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा राख्दा अलिकति पनि लाज लागेन ?”
उनका अनुसार सुदूरपश्चिम, मधेस, दलित र जनजातिलाई आन्दोलनको बेला अगाडि राख्ने तर निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ खोज्नुु प्रतिनिधित्व होइन, खुला धोका हो ।
नयाँ पार्टीको पुरानाकै पदचाप ः तनुजा पाण्डे
अर्की जेनजी प्रतिनिधि तनुजा पाण्डेले समानुपातिक प्रणालीलाई व्यक्तिगत वा पार्टीगत लाभका लागि प्रयोग गर्नु अनैतिक र अस्वीकार्य भएको टिप्पणी गरेकी छन् । उनले प्रतिनिधिसभामा विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता लोकतन्त्रको आधार भएको स्मरण गराउँदै भनेकी छन्– “यो प्रणाली नाम, पैसा र शक्ति प्राप्तिको माध्यम बन्न दिनु हुँदैन ।”
उनले पुराना दलहरूबाट आरजु राणा देउवा जस्ता पात्र समानुपातिकमार्फत संसद प्रवेश गर्दा आलोचना गरिएको स्मरण गराउँदै नयाँ भनिएका पार्टीहरूले पनि उही प्रवृत्ति दोर्होयाउनु दुःखद भएको उल्लेख गरेकी छन् ।
“यदि लोकप्रियता, पहुँच र चिनजान नै प्राथमिकता हो भने पुरानो र नयाँ पार्टीमा के फरक रह्यो ?”
तर उनले स्रोत–साधन, बौद्धिकता र नेतृत्व क्षमता भएका पात्रहरूलाई प्रत्यक्ष निर्वाचनमार्फत प्रतिस्पर्धा गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राखेकी छन् ।
नयाँ पुराना दलहरुले समानुपातिक उम्मेद्वार छनौटको अभ्यास सही ढंगले नगर्दा यो प्रणालीप्रति नै वितृष्णा पैदा भएको छ । राम्रो उद्देश्यले राखिएको यो व्यवस्थाको दलहरुले धज्जी उठाउने काम नगरुन् भन्ने आवाज अहिले चर्काे हुँदै गएको छ । त्यसले संविधान, आन्दोलन र बलिदानको अपमान मात्र होइन, नयाँ पुस्तालाई राजनीतिबाट विमुख गराउने खतरा पनि बोकेको छ । नव युवाहरुको प्रश्नलाई गम्भीर ढंगले बुझौं – “पुरानाले गरेको अन्याय दोर्होयाएर नयाँ राजनीति कसरी सम्भव हुन्छ ?” यसको उत्तर अब दलहरूले व्यवहारबाट कसरी दिन्छन् त्यो हेर्न बाँकी छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया