Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

कांग्रेसमा सभापति र महामन्त्रीबीचको कलह निर्णायक मोडमा !


काठमाडौै । सभापति शेरबहादुर देउवाको सहमतिविनै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको प्रक्रियामा अघि बढेपछि नेपाली कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको छ ।

महामन्त्रीद्वय थापा र शर्मासहितको आजको बैठकले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले पुस २६ गते गर्ने गरी तोकेको १५ औं महाधिवेशनबारे भने न प्रक्रिया अघि बढेको छ, न स्थगित नै गरिएको छ । संस्थापन तथा विशेष महाधिवेशन पक्षधरहरु अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूको बिहीबार महाराजगञ्जमा बसेको बैठकले पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । उनीहरुले साँझ संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगन गरिएको जनाएका छन् ।

पुस २६ देखि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका तोकिए पनि प्रक्रिया नै अघि नबढेपछि बाध्य भएर विशेष महाधिवेशन गर्न लागिएको यो समूहको तर्क छ।

आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनको बा र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

पार्टी विधानको धारा १७ ९२० अनुसार विशेष महाधिवेशन गर्न सकिने व्यवस्था रहेको भन्दै थापा पक्षधरहरुले भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन्।

यसअघि विशेष महाधिवेशनको माग गर्दै पार्टीको कुल सदस्य संख्याको ५४ प्रतिशतले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

कांग्रेस केन्द्रीय समिति बैठकले पुस २६ गतेदेखि १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता नवीकरण तथा वितरण सम्पन्न नहुँदा उक्त कार्यतालिका प्रभावित भइसकेको छ।

कार्यतालिकाअनुसार १६ गते वडा तथा १७ गते पालिका अधिवेशन हुनुपर्ने थियो। ती अधिवेशन हुन सकेनन्, न त स्थगनसम्बन्धी केन्द्रीय कार्यालयले कुनै परिपत्र नै गरेको छ।

यता संस्थापन पक्ष भने चुनावको मुखमा विशेष महाधिवेशन हुन नसक्ने अडानमा छ। गगन थापालगायतले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप पनि संस्थापन पक्षले लगाएको छ ।

महामन्त्री पक्षले भने महाधिवेशन टार्नकै लागि आफूहरूमाथि दोष थोपर्ने प्रयास भइरहेको भन्दै प्रतिवादमा उत्रिएको छ। सभापति देउवाले पनि चुनाव अघि कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने बताउँदै आएका छन्।

महामन्त्री थापाले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका नेता–कार्यकर्तालाई काठमाडौं आउनसमेत जानकारी गराइसकेका छन्।

अब अन्तिम प्रयासका रूपमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने र महाधिवेशन उद्घाटनका लागि निम्तो दिने निर्णय भएको छ।

महामन्त्री थापा भने प्रतिवेदन लेख्न धुलिखेल गइसकेका छन्। नेता शेखर कोइराला पक्षले पनि विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने तर्क गर्दै आएको छ।

विशेष महाधिवेशन पक्षधर समूहले आज पत्रकार सम्मेलन गर्दैछन्। उनीहरुले विहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। महामन्त्रीको पत्रकार सम्मेलन भने भोलि हुने जनाइएको छ।

यससँगै नेपाली कांग्रेसभित्रको विवाद अब निर्णायक मोडमा पुगेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट