भेनेजुएलाका राष्ट्रपति मदुरो न्यूयोर्कको हिरासतमा, अन्तरिम राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई
काठमाडौं/बीबीसीको सहयोगमा ।
अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए ।
मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रथ मार्फत् सार्वजनिक गरेका थिए । ट्रम्पले ‘यूएसएस इवो जिमा’ युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेका थिए ।
न्यूयोर्कको स्टुवर्ट एअर न्याशनल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्याइएको थियो । त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ ।
यद्यपि अधिकारीहरूले यसको आधिकारिक पुष्टि गरेका छैनन् । राष्ट्रपति ट्रम्पले ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले ‘चलाउने’ बताएका छन् ।
कराकासस्थित भेनेजुएलाको सर्वाेच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेस देशको सर्वाेच्च नेता रहने आदेश जारी गरेको छ । उनले अब अन्तरिम राष्ट्रपतिका रूपमा काम गर्ने ठानिएको छ ।
समाचार संस्था रोएटर्सका अनुसार अदालतले आफ्नो आदेशमा रोड्रिगेसले उक्त पदमा रहेर ‘प्रशासकीय कामकारबाहीको निरन्तरता र राष्ट्रको बृहत सुरक्षाको सुनिश्चितता’ गर्नुपर्ने उल्लेख गरेको छ ।
बीबीसीका संवाददादाता टम बेटमनका अनुसार ट्रम्पले आफ्नो देशमा लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न नभई त्यहाँको विशाल तेल दोहन गर्ने नियत राखेको कतिपय भेनेजुएलाका नागरिकहरूको विश्वास छ ।
सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले यसअघि देशका एक मात्र राष्ट्रपति मदुरो नै भएको बताएकी थिइन् ।
भेनेजुएलाले ‘अत्यन्त गम्भीर सैनिक आक्रमण’ भएको भन्दै देशभरि राष्ट्रिय आपतकाल घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले के भन्यो
संयुक्त राष्ट्रसङ्घका महासचिवका एक जना प्रवक्ताले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट आफू अत्यन्तै चिन्तित भएको महासचिव एन्टोनियो गुटेरसले बताएको उल्लेख गरेका छन् ।
उनले उक्त क्षेत्रमा निम्तिन सक्ने प्रभावबारे चिन्तित रहेको पनि बताएका छन् ।
‘भेनेजुएलाको यो परिस्थितिमा मात्रै पनि अहिलेका घटनाक्रमले खतरनाक नजिर स्थापित गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।
‘महासचिवले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसङ्घको विधानको सबैले पूर्ण सम्मान गर्नुपर्नेमा निरन्तर जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय कानुनको पालना नभएकोमा उहाँ अन्त्यन्तै चिन्तित हुनुभएको छ ।’
चीन र रुसको समर्थनमा कोलम्बियाले सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान गरेको छ ।
भेनेजुएलाबाट कसरी पुर्याइयो न्यूयोर्क
भेनेजुएलाबाट पक्राउ परेका मदुरो दम्पती न्यूयोर्कको म्यानह्याटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालयमा सबैभन्दा पहिले पुर्याइएका थिए ।
शनिवार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो । त्यसपछि उनलाई क्यारिबिअन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत ‘यूएसएस इवो जिमा’मा पुर्याइएको थियो ।
त्यसपछि मदुरोलाई क्युबास्थित ग्वान्टानामो बेमा रहेको अमेरिकी नौसैनिक अड्डामा लगियो । त्यहाँबाट उनलाई अर्काे विमानमा सारेर न्यूयोर्क राज्यको ओरिन्ज काउन्टीमा रहेको स्टुवर्ट एअर फोर्स बेसतर्फ उडाइयो ।
स्टूवर्ट एयर फोर्स बेस पुगेपछि मदुरोलाई फेरि हेलिकप्टरमार्फत् न्यूयोर्क सहर भित्र्याइएको थियो ।
पक्राउ परेदेखि अमेरिकामा अवतरणसम्म मादुरोले करिब ३,३०० किलोमिटर दूरी पार गरेका थिए ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दर्ता गरिएको जानकारी दिएकी छन् ।
उनीहरूमाथि लागुऔषध–आतङ्कवादको षड्यन्त्र र कोकिन आयात, मशीनगन तथा विनाशकारी हतियार राखेको अनि अमेरिकाविरुद्ध मशीनगन र विनाशकारी हतियार राख्न षड्यन्त्र गरेको आरोप लगाइएको छ ।
मदुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग दायर गरिएको छ । आफूमाथि अमेरिकाले लगाउँदै आएको लागुऔषध कार्टेलको नेता भएको आरोप मदुरोले अस्वीकार गर्दै आएका छन् ।
अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन प्रणालीमा उनीहरूको विवरण प्रविष्ट गर्नुअघि बायोमेट्रिक विवरण, औँठाछाप र अनुहार प्रष्ट देखिने अर्धकदको तस्बिर लिइन्छ ।
स्वास्थ्य परीक्षण जस्ता प्रक्रिया पूरा गरेपछि मदुरो र उनकी पत्नीलाई अदालतमा औपचारिक रूपमा अभियोग सुनाइने अधिकारीहरूले बताएका छन् ।
मदुरोलाई सोमवार मात्रै अदालत उपस्थित गराइने ठानिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति



















प्रतिक्रिया