एमाले र श्रमसंस्कृतिक पार्टीपछि नेपाली कांग्रेस र रास्वपाले आज समानुपातिक सांसदको टुङ्गो लगाउँदै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक प्रणालीअन्तर्गत सांसद चयन गर्ने प्रक्रिया अहिले तीव्र बनेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्राप्त समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गरी फागुन २८ गते पत्राचार गर्दै तीन दिनभित्र सांसदको नाम पठाउन निर्देशन दिएपछि दलहरू आन्तरिक छलफल र बैठकमार्फत अन्तिम निर्णयमा पुग्ने तयारीमा लागेका हुन् । आयोगको पत्राचारपछि दलहरूले यसअघि बुझाएका बन्दसूचीमा रहेका उम्मेदवारहरूबाटै समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था र समावेशी प्रतिनिधित्वको मापदण्डअनुसार सांसद छनोट गरिरहेका छन् ।
यस प्रक्रियाअन्तर्गत केही दलहरूले आफ्ना सांसदको नाम टुंगो लगाइसकेका छन् भने केही दलहरूले आज बैठक बसेर अन्तिम निर्णय गर्ने तयारी गरेका छन् । नेकपा एमाले र श्रम संस्कृति पार्टीले आफ्ना समानुपातिक सांसद चयन गरिसकेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले भने आज बैठकमार्फत आफ्ना समानुपातिक सांसदहरूको नाम तय गर्ने कार्यक्रम तय गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार समानुपातिक सांसद छनोट लगायतका विषयमा निर्णय गर्न आज बिहान १० बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय भएको छ । प्रत्यक्षतर्फ १२५ निर्वाचन क्षेत्रमा जित हासिल गरेको रास्वपाले समानुपातिकतर्फ भने ५७ सिट प्राप्त गरेको छ । यस आधारमा पार्टीले बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये समावेशी क्लस्टर र कानुनी प्रावधानअनुसार सांसद चयन गर्ने तयारी गरिरहेको छ ।
यसैबीच नेपाली कांग्रेसले पनि समानुपातिक सांसद छनोटका लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका अनुसार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकले बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले पाएको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य चयन गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको थियो भने समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । यही आधारमा पार्टीले समावेशी कोटा र क्लस्टरको सन्तुलन मिलाउँदै सांसद चयन गर्नेछ ।
यसअघि नेकपा एमालेले भने आफ्ना समानुपातिक सांसदहरूको नाम टुंगो लगाइसकेको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसद चयन गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन् । बैठकले संविधान र निर्वाचन कानुनअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न क्लस्टरबाट उम्मेदवार छनोट गरेको हो ।
एमालेले जनजाति क्लस्टरबाट चार जना चयन गरेको छ । यस समूहअन्तर्गत महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ चयन भएका छन भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सांसद बनाउने निर्णय गरिएको छ । त्यस्तै खस–आर्य क्लस्टरबाट पाँच जना चयन गरिएको छ, जसमा महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट यशुदाकुमारी बराल छन् । पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कंडेल चयन भएका छन् ।
थारू समुदायबाट कृपाराम राना चयन भएका छन् भने दलित क्लस्टरबाट दुई महिला विष्णुमाया बिके र नीता घतानीलाई सांसद बनाउने निर्णय गरिएको छ । मधेसी समुदायबाट तीन जना चयन भएका छन्, जसमा महिलातर्फ रिंगला यादव र यशोधाकुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल रहेका छन् । मुस्लिम समुदायबाट भने साजिदा सिद्दीकीलाई समानुपातिक सांसदका रूपमा चयन गरिएको एमालेले जनाएको छ ।
श्रम संस्कृति पार्टीले पनि हिजै समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । यो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने निर्वाचन आयोगको निर्णय अनुसार सांसद नाम टुङ्गो लगाएको छ ।
सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
हर्क साङपाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।
अब प्रमुख दलहरूले आफ्ना नाम निर्वाचन आयोगमा पठाएपछि आयोगले औपचारिक रूपमा समानुपातिक सांसदहरूको नाम घोषणा गर्नेछ । यससँगै प्रतिनिधिसभाको पूर्ण संरचना स्पष्ट हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया