Techie IT
Samayabaddha
आईतबार, ८ चैत्र, २०८२

तनावग्रस्त कपिलवस्तु : झडपमा २० जना घाइते, महाराजगन्ज क्षेत्रमा कर्फ्यु जारी


दाङ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावले अहिले केवल सुरक्षा चुनौती मात्र होइन, सामाजिक सद्भावमै खलबल प¥óाएको छ । झडपमा दर्जनौं घाइते भएका छन् । सबैभन्दा पीडादायी पक्ष भनेको प्रत्यक्ष संलग्न नभएका सर्वसाधारणहरु घाइते भएका छन् ।

शनिबार बिहान भएको झडपमा २० जना घाइते भएका छन् । तीमध्ये ३ जनालाई थप उपचारका लागि रुपन्देही पठाइएको छ भने अन्य घाइतेको जिल्लामै उपचार भइरहेको छ । घाइतेमध्ये ५० वर्षिय रामदयाल कुर्मी र २ वर्षिया बालिका हलिमा खातुनको अवस्था विशेष रूपमा चिन्ताजनक मानिएको छ । दुवै जना घटनास्थल नजिकै सामान्य काममा निस्किएका बेला अचानक हिंसाको चपेटामा परेका थिए ।

स्थानीयका अनुसार घटनाअघि नै धार्मिक गतिविधिका कारण वातावरण तनावग्रस्त बन्दै गएको थियो । रातिदेखि नै मन्दिर र मस्जिद वरिपरि आवाज र आतिशबाजीका कारण असहजता बढेको थियो । बिहान उक्त विवादले उग्र रूप लिँदा ढुङ्गा र इँटा प्रहारसम्मको अवस्था सिर्जना भयो ।

झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।

अहिले मुख्य प्रभावित क्षेत्र बहादुरगन्ज र महाराजगन्जमा अवस्था सामान्यतर्फ उन्मुख देखिए पनि डुमरा क्षेत्रमा अझै छिटपुट प्रदर्शन भइरहेका छन् ।

प्रशासनका अनुसार स्थिति नियन्त्रणमा रहे पनि पूर्ण रूपमा ढुक्क हुने अवस्था अझै बनेको छैन । त्यसैले सुरक्षा सतर्कता उच्च पारिएको छ । आज सर्वदलीय बैठक राखेर दीर्घकालीन समाधान खोज्ने तयारीसमेत गरिएको छ ।

यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ-सामान्य धार्मिक असहमतिले किन यति छिटो हिंसात्मक रूप लिन्छ रु अझ चिन्ताजनक कुरा के भने यस्ता घटनामा निर्दोष बालबालिका र सर्वसाधारण नै सबैभन्दा बढी पीडित बन्ने गरेका छन् ।

स्थानीय बासिन्दाले हिन्दु र मुस्लिम दुवै समुदायका अगुवाहरूलाई तत्काल संवाद र समन्वयको पहल गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा प्रशासनिक नियन्त्रण मात्रै पर्याप्त हुँदैन, सामाजिक तहबाटै सद्भाव कायम गर्ने प्रयास जरुरी छ ।

लगातार दोस्रो दिन भएको झडपले देखाएको छ कि समस्या केवल एक दिनको विवाद होइन, गहिरिँदै गएको अविश्वासको परिणाम पनि हुन सक्छ । त्यसैले अबको प्राथमिकता केवल शान्ति कायम गर्ने होइन, दीर्घकालीन रूपमा सहअस्तित्व र विश्वास पुनःस्थापित गर्ने हुनुपर्ने देखिन्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट