सेकेण्ड गनेर काम गर्ने रास्वपा सभापतिको उद्घोष !
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख नेताहरूले आआफ्ना धारणा राखेका छन् ।
संसदको सबैभन्दा ठूलो दलका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आफ्नो सम्बोधनमा सरकार समय खेर फाल्ने पक्षमा नरहेको बताउँदै “दिन होइन, सेकेण्ड गनेर काम गरिरहेका छौँ” भन्ने सन्देश दिएका छन्।
उनले विगतमा आफूहरू प्रश्न उठाउने र समस्या औँल्याउने भूमिकामा रहेको तर अहिले समाधान दिने जिम्मेवारीमा पुगेको बताए। छोटो समयमै सरकारका कामको परिणाम देखिन सभापति लामिछानेको दाबी थियो । उनले इतिहासबाट सिक्न हिच्किचाउन नहुने धारणा व्यक्त गरे।
लामिछानेले संसदलाई प्रतिशोधको होइन, स्वस्थ बहस र सहकार्यको थलो बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। अघिल्लो संसदमा आफूहरूले प्रतिशोध भोगेको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने उनको भनाइ थियो।
उनले प्रतिपक्षलाई सरकारको निगरानी गर्न आग्रह गर्दै सही कामको प्रशंसा र गलत कामको आलोचना गर्न नछाड्न आग्रह गरे। “हामी काम गर्छौँ, तपाईंहरू निगरानी गर्नुहोस्,” उनले भने ।
यता, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ले आफ्नो पार्टीले संसदमा आलोचनात्मक तर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरण र जनहितका मुद्दामा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको उल्लेख गरे।
साथै पुनले गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशीताजस्ता राजनीतिक उपलब्धिलाई अझ सुदृढ बनाउन सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए। पुनले लोकतान्त्रिक आचरण र पद्धतिप्रति प्रतिबद्धता जनाउँदै नयाँ पुस्ताका मुद्दाहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। विगतमा माओवादी र नेकपाले प्राप्त गरेको जनमत अहिले रास्वपाले पाएको सन्दर्भ उल्लेख गर्दै उनले विगतका कमजोरीबाट पाठ सिक्न सुझाव दिए।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले फरक धारणा प्रस्तुत गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न र संवैधानिक राजसंस्था पुनर्स्थापना गर्न माग गरे। उनले नेपालको धार्मिक संरचना उल्लेख गर्दै धर्मनिरपेक्षताको औचित्यमाथि प्रश्न उठाए। साथै प्रदेश संरचना आवश्यक नभएको दाबी गर्दै संविधान संशोधनमार्फत राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताए।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया