Techie IT
Samayabaddha
बुधबार, २५ चैत्र, २०८२

देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी


शेरबहादुर र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो।

देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती भने नेपालमा छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएको बताइएको छ ।

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।

सम्पत्ती शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि भन्दै सम्पत्ती शुद्धीकरण विभागले माग गरेपछि जिल्ला अदालतले अनुमति दिएको जनाइएको छ।

गत फागुनमा भएको चुनावअघि नै उपचारका लागि भन्दै विदेश गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।

पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने भएको छ । यसका लागि अदालती कागजात चाहिने भएकाले पक्राउ पूर्जीले त्यसको काम गर्ने एक प्रहरी अधिकृत बताउँछन् ।

उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको बताइएको छ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बूढानीलकण्ठमा जलेका नोटहरु भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटहरुको भिडियो समेत सार्वजनिक भएको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको मुचुल्का समेत उठाएर अनुसन्धान अघि बढाएको थियो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट