झण्डै ७० करोडको व्यक्तिगत लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान !

अमेरिका जाने चाहना पूरा हुन सकेन, अष्ट्रेलिया पुगेर सफल विनोदको सफलताको कथा
काठमाडौं । नेपाली क्रिकेट पूर्वाधारको क्षेत्रमा अहिले सबैभन्दा चर्चाको नाम हो विनोद कुँवर । उनी आफैँमा क्रिकेट क्रेजी हुन् । सन् २०१३ मा नेपालले पहिलो पटक टी ट्वेन्टी विश्वकपमा छनौट भयो । त्यो समयमा क्रिकेटको क्रेज ह्वात्तै बढेको थियो । कुँवरले पनि काठमाडौंका विभिन्न ठाउँमा पुगेर क्रिकेट हेरेका थिए । लोडसेडिङका कारण चाहेको ठाउँमा बसेर क्रिकेट हेर्न समस्या थियो । दैनिक लोडसेडिङको सेड्युअल हेरेर टेलिभिजनमा क्रिकेट हेर्ने गरिन्थ्यो । टी ट्वेन्टी क्रिकेट अन्तरगत बंगलादेशमा सन् २०१४ मा भएको प्रतियोगितापछि विनोदलाई नेपालमा राम्रो स्टेडिमय भएमा ? भन्ने प्रश्नसँगै सपनाको विजारोपण भएको थियो । उनी विश्वकप क्रिकेटमा छनौट भएर फर्किएको टोलीलाई विमानस्थलमा स्वागत गर्नका लागि पुगेका थिए । क्रिकेट टोलीसँगै विनोद काठमाडौंका विभिन्न ठाउँमा पुगेका पनि थिए ।
नेपालमा क्रिकेट पूर्वाधारको अभाव र त्यसलाई सुधारका लागि आफूसँग पैसा भएमा त्यहीँ काम गर्ने अठोट लिएका विनोद सुरुवातमा अमेरिकामा पढ्न जाने सोचमा थिए । भिसा नलागेपछि उनी अष्ट्रेलिया पुगे । सन् २०१४ मा उच्च शिक्षाका लागि त्यहाँ पुगेका उनले जागिरका लागि प्रयास गरे । विभिन्न काम गरेका उनले कोरोना महामारीसँगै आफ्नै व्यवसाय सुरुवात गर्ने निधो गरे र एक्स्ट्राटेक नामको आइटी कम्पनी स्थापना गरे । छोटो समयमा उनी सफल सावित देखिए । उक्त कम्पनीले आइटी इन्जिनियरिङ गरिरहेकाहरुलाई व्यावसायिक तालिम दिने मुख्य काम गर्छ । सुरुवातका संघर्षका दिन सम्झर्दैँ उनी भन्छन्, ‘सुरुवातमा निक्कै संघर्ष गर्नु परेको थियो । नेपाली इन्जिनियरिङका विद्यार्थीले काम नपाउने समस्या मैले भोगेको थिएँ । त्यसैले कोभिड महामारीसँगै मैले आफ्नै काम गर्ने निधो गरेको थिएँ । अमेरिका जाने सपना बोकेर काठमाडौं आएँ, उता भएन अष्ट्रेलिया आइपुगियो । अरुकोमा काम गर्दागर्दै आफ्नो व्यवसाय थाले र यसले मलाई धेरै सहयोग गरेको छ ।’
विनोदको कम्पनीले आफ्ना शाखाहरु बिस्तार गरिरहेको छ । नेपालमा पनि दर्जनौँले उनको कम्पनीबाट रोजगारी पाएका छन् । अष्ट्रेलियाका सिड्नी, मेलबर्न, क्यानवेरालगायतका ठाउँमा एक्स्ट्राटेकका शाखाहरु रहेका छन् । पछिल्लो समय उनले अमेरिका केन्द्रित गरेर कोर्सहरु डिजाइन गरेका छन् । जसले गर्दा काम पाउन सजिलो र व्यवहारिक ज्ञान पनि प्राप्त हुने गरेको छ । छोटो समयमा नै व्यवसायिक सफलता प्राप्त गरेका विनोदले नेपालमा आफ्नै लगानीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलको क्रिकेट मैदान बनाउने निधो गरे । गुल्मीका स्थानीय बासिन्दा विनोदले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा क्रिकेट बनाउने महत्वकांक्षी परियोजना सुरु गरे । सन् २०२४को मार्चमा उक्त मैदान खेल्न योग्य भएपछि उद्घाटन गरियो ।
क्रिकेटको क्रेजलाई हेरेर उनले रुपन्देहीमा नै क्रिकेट मैदान बनाउने निर्णय लिएका हुन् । रुपन्देही र आसपासको क्षेत्रमा नेपाली क्रिकेटका स्टारहरु निरन्तर राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा चर्चामा रहेका छन् । त्यसैले ७० करोडको अनुमानित लागत तयार गरेका विनोदले अहिलेसम्म करोडौँ रुपैयाँ लगानी गरिसकेका छन् । उनले तयार गरेको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालै प्रधानमन्त्री कप एकदिवसीय खेलसमेत सम्पन्न भएको छ । सन् २०२८ भित्र २५ हजार दर्शक अटाउने क्षमतामा भौतिक संरचना निर्माण गर्ने काम चलिरहेको छ । रंगशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर स्थापना गर्ने काम पनि संगसंगै लगेको उनको भनाइ छ । एकेडेमीको जिम्मेवारी नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई दिइएको छ ।
निर्माण सुरु भएको छोटो समयमा नै उनले कसरी तोकिएको समयमा काम गर्न सकिन्छ भनेर मानक नै तयार गरेका छन् । उनको रंगशाला नेपालमा पहिलो रात्रिकालीन खेलका लागि तयार गरिएको रंगशाला बनेको छ । फ्लड लाइट जडान गरेर पनि अब रातिको समयमा खेलसमेत खेल्न मिल्ने गरी सम्पूर्ण व्यवस्थापन गरिएको छ । अहिले भौतिक पूर्वाधारतर्फ प्याराफिट र भिआइपी भवन निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको काम सम्पन्न गर्दासम्म मैदानमा ७० करोड रुपैयाँ खर्च हुने अनुमान उनले गरेका छन् । आफूले र श्रीमतीले कमाएको सबै रकम मैदान निर्माणमा खर्च गरिएको उनको भनाइ छ ।
बढ्दो क्रिकेट क्रेजले उत्साही
नेपालले पछिल्लो समय क्रिकेटमा विभिन्न शक्तिशाली टिमसँग प्रतिस्पर्धा गरिरहेको छ । पछिल्लो एसियाकप क्रिकेटमा नेपालले भारत, पाकिस्तानजस्ता संसारकै बलिया टिमसँग प्रतिस्पर्धा गरेर संसारको ध्यान तानेको थियो । त्यसपछि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । उनी भन्छन्, ‘नेपाली टोलीले गरेको प्रगति हेर्नका लागि म अष्ट्रेलियाबाट श्रीलंकासम्म पुगेको थिएँ । यसले मलाई झनै उत्साही बनाएको छ । मैले अष्ट्रेलियामा भइरहेका प्रतियोगिता, क्रिकेट संरचना र क्रिकेटको भौतिक पूर्वाधारलाई नजिकबाट नियालीरहेको छु । लक्ष्यअनुसार नै मैदान तयार भएकाले छिट्टै व्यावसायिक प्रयोजनका लागि हामी तयारी अवस्थामा छौँ ।’ आफूले निर्माण गरेको मैदानमा भारत, पाकिस्तान जस्ता टिमले खेलेको हेर्ने चाहना उनको छ । त्यसका लागि एउटामात्रै नभएर विभिन्न ठाउँमा अन्तर्राष्ट्रियस्तरका थप रंगशाला बन्नु पर्छ ।
विनोद अघिल्लो महिना नेपाल आएर दुईवटा महत्वपूर्ण काममा सहभागी बने । उनले सबैभन्दा पहिले आफूले निर्माण गरेको क्रिकेट मैदानमा फ्लड लाइट जडान गरे । त्यस्तै उनले आफ्नै मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका खेलहरु हेर्नसमेत पाए । सकभर रात्रिकालीन खेल गराउने तयारी भए पनि लाइट परीक्षणको समय अभावले त्यो पूरा हुन सकेन । तर, योबीचमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीसँग भेटेर नेपाली क्रिकेटको भविष्य उज्ज्वल भएको सन्देश प्रवाह गर्ने काम पनि उनले गरेका छन् । चितनवनको भारतमा निर्माण भइरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान, त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको अवलोकन भ्रमण पनि विनोदले गरेका छन् ।
विश्व कप छनोटमा नेपालले विश्वविजेता वेष्ट इन्डिज, टेस्ट राष्ट्र जिम्बावे, आयरल्याण्डलगायतका देशसँग पनि प्रतिस्पर्धा गर्यो । अहिले पनि डिभिजन टू अन्तर्गतका विभिन्न खेलमा नेपालले सहभागिता जनाइरहेको छ । नेपालमा हुने प्रतियोगितामा नेपाली दर्शकको उपस्थितिले संसारभरको ध्यान नेपाल तर्फ केन्द्रित हुन्छ । त्यसैले विनोदजस्ता क्रिकेट क्रेजीलाई थप उत्साही र लगानीका लागि वातावरण तयार गरिरहेको छ । त्यसो त सरकारले बनाउने भनेर लामो समय र लगानी लगाएका कयौँ भौतिक पूर्वाधार अलपत्र अवस्थामा छन् । चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय रंगशाला, त्रिभुवन विश्व विद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र मूलपानीस्थित दुईवटा रंगशाला निर्माणको काम वर्षौदेखि अलपत्र अवस्थामा रहेका छन् ।
नाफा भन्दा पनि क्रिकेट खेलाडी उत्पादनमा जोड
सरकारी तथा साझेदारी लगानीमा बनिरहेका रंगशाला अलपत्रको अवस्थामा रहेकामा उनको गम्भीर चासो छ । समग्र क्रिकेटको विकासका लागि एक दुई नभएर धेरै रंगशाला अन्तर्राष्ट्रिय स्तरका हुनु पर्नेमा उनले जोड दिएका छन् । उनी भन्छन्, ‘ मैले कसैको पनि आशा र भरोसा गरेको छैन । त्यसैले मैले राम्रोसँग मैदान तयार गरेर व्यवसायिक साझेदारसमेत भित्राउने सोच बनाएको छु । अष्ट्रेलियाको प्रविधि र क्रिकेटको विकासबाट सिकेर भौतिक पूर्वाधारमा लगानी गरेको हुँ । छिमेकी देश भारतको उत्तर प्रदेशलाई मात्रै पनि हामीले टार्गेट गरेर काम गरेमा सफल हुन्छौँ ।’ आफ्नो निर्माण सम्बन्धि मोडलका बारेमा उनले सरकारी तथा क्यानका पदाधिकारीसमेतलाई जानकारी गराएका छन् ।
लगानी गरेपछि त्यसको प्रतिफलको कुरा जुनसुकै लगानीमा हुन्छ । विनोदले भने तत्काल प्रतिफल भन्दा पनि नेपालमा क्रिकेट खेलको विकासमा योगदान दिनु रहेको छ । उनी भन्छन्, ‘नाफा कमाउनका लागि अनेक प्रकारका क्षेत्र छन् । त्यसैले नाफा प्राप्ति भन्दा पनि क्रिकेट खेलाडीको उत्पादनमा मैले थोरै भए पनि योगदान दिऊँ भनेर यो मैदान तयार गरिरहेको छु । नेपाली क्रिकेट टोलीले धेरै प्रगति गर्दा देशमा रंगशालाको अभाव देखेरै मैले यो मैदान बनाउने निर्णयमा पुगेको हुँ ।’ एक्स्ट्राटेक ओभर निर्माणपूर्व उनले विभिन्न देशका क्रिकेट स्टेडियमको अवलोकन गरेका छन् । उनले आफूले घडेरीकारुपमा लिएको जग्गालाई बिस्तार गरेरै क्रिकेट रंगशाला निर्माण थालेका थिए । रंगशाला बन्नुअघि पनि यो ठाउँमा क्रिकेट खेल्ने गरिएको थियो । उनले संयुक्त अरब इमिरेट्सको अवुधावीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी निर्वाह गरेका अनुभवी माधव पाटकलाई क्युरेटरको जिम्मेवारी दिएका छन् । शक्ति गौचनले पनि उनलाई सहयोग गरिरहेका छन् । रुपन्देही र आसपासका क्रिकेटको विकासमा काम गरिरहेका व्यक्तिले पनि विनोदलाई हौसला प्रदान गरिरहेका छन् । रुपन्देहीका दुई ठूला शहर बुटवल र भैरहवाको बिचभागमा रहेको यो रंगशाला मणिग्रामबाट झण्डै ८ किलोमिटरको दूरीमा छ ।
किन रोजे उनले रुपन्देही नै ?
सन् २०१३ को टिट्वेन्टी विश्वकप छनौट र सन् २०१४ को टि ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली टोलीका महत्वपूर्ण खेलाडी थिए, शक्ति गौचन । गौचनसहितको नेपाली टिमलाई विमानस्थलमा स्वागत गर्न जाने टिन एजरमध्ये एक थिए, विनोद कुँवर । गुल्मीका स्थायी बासिन्दा भए पनि उनले उच्च शिक्षा रुपन्देहीमै हासिल गरेका थिए । उच्च शिक्षा लिने समयमा रुपन्देहीमा क्रिकेटको क्रेज राम्रो थियो । अहिलेको राष्ट्रिय टोलीका धेरै सदस्य पनि रुपन्देही र आसपासको क्षेत्रका रहेका छन् । त्यसैले लुम्बिनीकै आसपास नै क्रिकेट स्टेडियम बनाउने निर्णयमा उनी पुगेका थिए । भारतसँगको सीमावर्ती क्षेत्रबाट हरेक वर्ष रुपन्देहीमा आयोजना हुने क्रिकेट प्रतियोगिताका लागि खेलाडी आउने गरेका छन् । त्यसलाई पनि लक्षित गरेर आफूले रुपन्देही रोजेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको प्रमुख व्यावसायिक केन्द्र रुपन्देहीबाट मात्रै राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, सञ्जय गुरुङ लगायतका अन्तर्राष्ट्रिय खेलाडीले आफूलाई स्थापित गरे । रुपन्देहीमा दशकौँदेखि विभिन्न प्रकारका क्लब स्तरीय प्रतियोगिता पनि हुने गरेका छन् ।
नेपाली क्रिकेट टोलीका पूर्वखेलाडी स्टार अलराउण्डर शक्ति गौचन रुपन्देहीका बासिन्दा हुन् । उनी नै यो क्रिकेट मैदानको ब्राण्ड एम्बासडर बनेका छन् । उनले एकडेमीकोसमेत जिम्मेवारी लिदैँ छन् । रुपन्देहीमा क्रिकेटका लागि विद्यालयदेखि व्यवसायिक प्रयोजनसम्मका झण्डै एक दर्जन क्रिकेट एकेडेमीसमेत रहेका छन् । जहाँ सयौँले क्रिकेट प्रशिक्षण लिइरहेका छन् । भौतिक पूर्वाधार र व्यवसायिक ज्ञान हासिल गर्ने उद्देश्य नै रुपन्देही रोजिएको विनोद बताउँछन् । रुपन्देहीमा विभिन्न ठाउँमा पाँचवटा रंगशाला छन् । ती रंगशाला अन्तर्राष्ट्रियस्तरका बन्न वर्षौ लाग्छ । धेरै रंगशाला, धेरै एकेडेमी भएका ठाउँमा पक्कै पनि क्रिकेटको व्यावसायिक पक्ष बलियो हुन्छ । जसले गर्दा नेपाली राष्ट्रिय टिममा रुपन्देही र आसपासको क्षेत्रबाट धेरैले प्रतिनिधित्व गरेका छन् ।
उमेरले ३७ वर्ष लागेका विनोदले आफूले प्रतिस्पर्धा वा कसैलाई देखाउनका लागि नभएर नेपाली क्रिकेटलाई सहयोग गर्नका लागि करोडौँ रकम लगानी गरेको बताएका छन् । त्यसका लागि उनले सबै पक्षबाट सहयोगको अपेक्षा पनि राखेका छन् । विनोद गैरआवासीय नेपाली संघ एनआरएनएमा पनि सक्रिय छन् । उनी एनआरएनएको न्यु साउथ वेल्सको संयोजकसमेत हुन् । कोरोना महामारीको संकटका समयमा उनले नेपालमा विभिन्न ठाउँमा सहयोग गरेका छन् । सामाजिक क्षेत्रमा पनि विनोदले आफूलाई स्थापित गरेका छन् । उनको उदाहरणीय कार्यमा सबै पक्षले साथ दिन आवश्यक छ ।
क्याटेगोरी : प्रदेश खबर
प्रतिक्रिया