Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

अम्पायरसँगको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै सन्दीप लामिछानेलाई क्रिकेट संघले गर्यो कारबाही


काठमाडौं, ८माघ । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ। हालै सम्पन्न जय ट्रफीका दौरान अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपलाई सम्झौताको ७ मा उल्लेख भएअनुसारको कारबाही गरिएको हो। उक्त कारबाहीअनुसार सन्दीपले कम्तिमा एक घरेलु प्रतियोगिता गुमाउने छन्।

‘जय ट्रफीका दौरान अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेकाले क्यानले अनुशासनको कारबाही गरेको हो। खेलाडीसँग भएको सम्झौताअनुसार नै कारबाही गरिएको हो। उहाँलाई एउटा घरेलु प्रतियोगिताका लागि निलम्बन गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने ।

मधेस प्रदेशमा सम्पन्न जय ट्रफीका दौरान लाइटिङ समस्याका कारण भएको विवाद लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए। उनले अम्पायरले विपक्षीको हित हुनेगरी बढी ओभर खेलाएको आरोप लगाएका थिए।

सन्दीपले हालै फेसबुकमार्फत आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए। उनले यो देशका अविश्वसनीय समर्थकहरूले आफूलाई धेरैथोक दिएको र आफूप्रति देखाएको माया र प्रोत्साहन कहिल्यै नबिर्सिने स्टाटस लेखेका थिए। हिजोमात्र उनले आफ्नो व्यक्तिगत मोबाइल नम्बर परिवर्तन भएको पनि उल्लेख गरेका छन्।


क्याटेगोरी : खेलकुद, जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट