Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

टी–२० विश्वकप २०२६ : समूह चरणमै रोकिने नेपाललाई पनि ३ करोडभन्दा बढी पुरस्कार


काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको भएपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ।

प्रतियोगिताको नियमानुसार नेपालले सहभागिता, अन्तिम पोजिसन र खेल जितेबापतको बोनस रकम पाउनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको वर्गीकरणअनुसार नेपालले कूल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार स्वरूप प्राप्त गर्नेछ। आजको विनिमय दर अनुसार यो रकम ३ करोड ७५ लाख ६७ हजार ५४५ रुपैयाँ हुन आउँछ ।

हरेक सहभागी टोलीले पाउने सहभागिताबापतको १ लाख १२ हजार ५०० अमेरिकी डलर नेपालले प्राप्त गर्नेछ । सुपर ८ मा प्रवेश गर्न नसकेको नेपाली टोलीको अन्तिम पोजिसन १३औं देखि २०औंभित्र पर्ने हुनाले त्यसबापतको १ लाख १२ हजार ५०० अमेरिकी डलर पनि नेपालले प्राप्त गर्नेछ ।

यस्तै नेपालले समूह चरणमा एक खेल जितेकाले थप ३१ हजार १५४ डलर बोनस पाउनेछ। यसरी नेपालले कूल २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गर्नेछ ।

विश्वकपको विजेता टोलीले उपाधिको मात्रै २३ लाख ४० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने त्यसमा सहभागिताको १ लाख १२ हजार ५०० अनि प्रत्येक खेल जितेबापतको रकम पनि थपिनेछ ।

विश्वकपको सेमिफाइनल आजदेखि हुँदैछ जहाँ फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड तथा भारत र इंग्ल्यान्ड खेल्ने छन् ।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया


ताजा अपडेट