Techie IT
Samayabaddha
बिहीबार, २० कात्तिक, २०८२

पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन्।

शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको धारणा राखे।

अन्त गएर केन्द्रित हुन खोजे कम्युनिस्टहरू सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेको बताउँदै उनले उनले पुष्पलालमा केन्द्रित भएर एकताका लागि कोसिस गर्न आग्रह गरे।

‘हामी सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल नै हुनस क्ने म देख्छु। त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरूरी छ। किनकि यो ऐतिहासिक छ। यो दूरगामी छ। यो रणनैतिक महत्त्वको पनि छ। हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिस्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ। प्रयास त हामीले गर्‍यौँ,’ उनले भने, ‘मेरै कुरा गर्‍यौँ भने ०७४ को निर्वाचनअघि निर्वाचनपछि कम्युनिस्टहरूलाई एकताबद्ध गरेर दुई तिहाई बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो तर त्यो एकता टिकाउन सकिएन, टिकेन।’

पुष्पलालको बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

‘हामी त्यसकै वरिपरि सारा कम्युनिस्ट पार्टीलाई ल्याउन सकौँला भन्ने सोचिएको थियो तर सकिएन। त्यहाँ कहीँ न कहीँ सीमाहरू रहे। हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गरौँ,’ उनले भने, ‘त्यसो गरे त्यो एकता दिगो हुन्छ। किनभने त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुन सक्छ। निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुन सक्छ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट