Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

टीआरसी कार्यदलको प्रतिवेदन उच्च नेतृत्वसमक्ष हस्तान्तरण


काठमाडौ । संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज प्रमुख दलका उच्च नेतृत्वसमक्ष प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामू कार्यदलको तर्फबाट गृहमन्त्री समेत रहेका कार्यदलका संयोजक रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्ताैला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।

प्रतिवेदन बुझ्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियालाई चाडै टुंगोमा पु¥याउनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जाओस् भन्ने आग्रह गरे।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को चालु अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘देशमा हिंसात्मक द्वन्द्व भयो, देशलाई ठुलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन ।’ प्रधानमन्त्री ओलीले सम्मानित सर्वाेच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको भन्दै यो प्रतिवेदनले शान्ति प्रक्रियामा कोशेढुङ्गा सावित गर्ने बताए ।

कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए । उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरेका थिए ।
कार्यदलले केही दिन अघि नै प्रतिवेदन तयार पारे पनि तीन जना नेताहरुको समयको कारण प्रतिवेदन बुझाउन पाएको थिएन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट