Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार


काठमाडौं। सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौंस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भएपनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘नेपाल र मलेसियाको बिचमा भएका सन्धि–सम्झौताहरुसहित आवश्यक कागजातसहित पुनः पत्राचार गरिएको छ ।’

रेड नोटिस जारी भएसँगै इन्टरपोलले पक्राउ गरेर उनलाई डिपोर्ट गर्न सक्छ । तर, मलेसिया सरकारले उनलाई पक्राउ गर्न आनाकानी गरेको छ ।

जीबीको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरूले बचतकर्ताको निक्षेप हिनामिना गरेको भेटिएको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको अनुसन्धानबाट देखिएको छ ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी संगठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले यसअघि नै जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष बागलुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भुपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरु विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट