Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त


गाजा पट्टीमा इजरायलले १५ महिनदेखि गरिरहेको आक्रमणका कारण यस क्षेत्रमा सञ्चालित बैङ्कहरूको झण्डै ९३ प्रतिशत शाखाहरू नष्ट भएको विश्व बैङ्कले जनाएको छ ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।

विश्व बैङ्क र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको तथ्याङ्कअनुसार गाजामा ९४ वटा एटीएममध्ये अहिले तीन वटा मात्र सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ । गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू पाउन सङ्घर्ष गरिरहेका समाचार संस्था एएफपीले जनाएको छ ।

बैङ्किङ प्रणालीमा भइरहेको अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः शुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने काममा बाधा पुर्‍याइरहेको छ ।

यसैबीच हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बैंकका एक वरिष्ठ अधिकारीले बताएका खबरमा उल्लेख छ ।

विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैङ्कको इच्छा व्यक्त गर्नुभएको हो ।

विश्व बैङ्कका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट