Techie IT
Samayabaddha
बुधबार, १७ असार, २०८३

दरबारमार्गमा आक्रमणः तरुण दलका केही नेताहरूको पुराना अपराधमा संलग्नताको खुलासा


काठमाडौं । दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै एक रेस्टुरेन्टभित्र भएको झडपको आरोपमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, काभ्रेका जिल्ला अध्यक्ष सुजन तामाङसहित आठ जना पक्राउ परेकामध्ये केही व्यक्तिहरू पुराना अपराधमा समेत संलग्न रहेको खुलेको छ ।

सीसीटीभी फुटेजका आधारमा प्रहरीले बैतडीका रमेश भट्टमाथि रेस्टुरेन्टभित्र कुटपिट गरेको आरोपमा ती नेताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङ उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा छन् ।

कुलध्वज तामाङ र सुजन तामाङ दुवै पुराना अपराधमा संलग्न रहेको खुलेको छ । कुलध्वज तामाङले २०७२ सालमा डाका, चोरीको मुद्दामा ११ महिना धुलिखेल कारागारमा सजाय काटेका थिए । यस्तै, २०७३ सालमा दरबारमार्गस्थित प्लाटिनम क्लबमा पियुष भाष्कर सिंहमाथि ज्यान मार्ने उद्योगमा मुद्दा लागेको थियो । उनकै समूहका सञ्जय लामा, मिलन लामा उर्फ डलर भन्ने व्यक्तिलाई समेत यो घटनामा मद्दा लगाइएको थियो । यस वाहेक प्रहरीमा उनका विरुद्ध मुद्दा दर्ता भएको थियो ।

काभ्रेका जिल्ला अध्यक्ष सुजन तामाङले पनि २०७३ सालमा राजन श्रेष्ठमाथि हतियार प्रयोग गरी आक्रमण गरेको आरोपमा मुद्दा खेपेका थिए । यही काभ्रेली समूहका दावा लामा, विनोद घिसिङ, वीरेन्द्र कुँवर, प्रविन केसी, प्रकाश कुँवर, सोनु सिंह सुवेदी, पुष्कर बस्नेतका विरुद्ध पनि जिल्ला प्रहरी परिसर ललितपुरबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका तरुण दलका नेताहरूलाई छोड्न दबाब परेको प्रहरी स्रोतले जनाएको छ । तर, प्रहरीले आठैजनामाथि अनुसन्धान जारी राखेको छ ।

पटकपटकको अपराधमा संलग्नता र राजनीतिक संरक्षणको आरोपले तरुण दलका नेताहरूको छविमा समेत गम्भीर प्रश्न उठाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट