Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान


अछाम, १३ पुस । अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । आज दिउसो ११ बजे तारा एयरको जहाज कमलबजार विमानस्थलमा अवतरण हुनेछ ।

परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको टोली अहिले काठ्माण्डौबाट नेपालगन्ज उडेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए । परीक्षण उडानका लागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल पनि आउने उनले बताए ।

निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो । परीक्षण उडानको तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए ।

कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो। २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो।

२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द हुन पुग्यो। माओवादीले रिपिटर टावर भत्काएपछि परीक्षण उडान समेत सम्भव नभई विमानस्थल सञ्चालनमा आउन सकेन ।

विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए ।

कमलबजार विमानस्थलको परीक्षण उडान सफल भएपछि यस क्षेत्रको यातायात सुविधा सहज हुने र आर्थिक विकासका लागि नयाँ आयामहरू खुल्ने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनले अछाम सहित सुदूरपश्चिमको पर्यटन, व्यापार र यातायातमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट