Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

अखिल क्रान्तिकारीको आज १२ बजेबाट शुरु हुने भनिएको मतगणना अझै अनिश्चित


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनको लागि शनिबार भएको निर्वाचनको हिजोदेखि स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन । आज १२ बजेबाट मतगणना शुरु हुने भनी निर्वाचन समितिले बताए पनि विद्यार्थीहरुबीच सहमति हुन नसक्दा अझै अनिश्चित बनेको छ ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माको सहमतिमा निर्वाचन समितिले मतपेटिका पेरिसडाँडामा सार्न खोजिएको भन्दै आज नयाँ विवाद उत्पन्न भएको एक विद्यार्थीले बताए । मतपेटिकालाई पेरिस डाडा सार्न खोजेपछि बाटोमा धाँधली गर्न सक्ने आशंकासहित हेमन्त राई समूहका विद्यार्थीहरुले विरोध जनाएको ती नेताको भनाइ छ ।

अहिले उक्त विवाद मिलाउन माओवादी केन्द्रबाट अखिल क्रान्तिकारीको निर्वाचन गराउन खटिएका उपमहासचिव शक्ति बस्नेत, पूर्व विद्यार्थी नेता हिमाल शर्मा लगायतका टिमले विद्यार्थी नेताहरुसँग पटक पटक छलफल चलाइरहेको छ ।

निर्वाचन समिति अन्तर्गत उपत्यका विशेष प्रदेश समितिका निर्वाचन अधिकृत प्रा.डा.जगत पोखरेलले उच्च तहको राजनीतिक सहमति जुटेपछि आफूहरुले मतगणना सुचारु गर्ने जानकारी दिए ।

विश्वविद्यालय र विशेष प्रदेश समितिमा खसेको मतपत्रमा निर्वाचनमा प्रयोग गर्ने भनिएको रातो मसी भन्दा अन्य पनि प्रयोग भएको भेटिएपछि विवाद भएको थियो । मतगणना स्थलमा बसेका प्रतिनिधिहरु बीच वाद–विवाद भएपछि हिजो आइतबार बिहानदेखि रोकिएको मतगणना फेरि सुचारु हुन नसकेको हो ।

अन्य प्रदेशमा मत गणना भइसकेको भए पनि ५२२ मत रहेको यी दुई प्रदेशमा विवादका कारण मतगणना नहुँदा अखिल क्रान्तिकारीको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सकेको छैन ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट