लोकतन्त्र भनेको अराजकता होइन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेको बताउँदै लोकतन्त्र भनेको अराजकता नभएको बताएका छन् । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले “लोकतन्त्र भनेको विकसित, सभ्य र सुशासनयुक्त प्रणाली” भएको बताए ।
राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले यदि यो व्यवस्था वा शासकहरू परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिने तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य नहुने भनाइ राखेका छन् ।
त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको जिकिर गरे। ‘हामी सहिदले देखाएको मार्गमा सँधै अविचलित रहनेछौँ’आलीले भने ।
सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने उनले बताएका छन्।
प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे। उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरु लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए।
यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गरेका थिए । मन्त्रिपरिषद्को मंलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया