अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् । थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।
थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् ।
हालसम्मको नतिजाअनुसार ११ सचिवमा राई प्यानलका ६ जना विजयी हुँदा सापकोटा प्यानलका ५ जना निर्वाचित भएका छन्।
खुला सचिव ४ जनामा राई पक्षबाट वीरेन्द्र जिसी र सम्झना राई तथा सापकोटा पक्षबाट प्रेम जैसी र शिशिर बसेल निर्वाचित भएका छन्।
यस्तै आदिवासी/जनजाति सचिवमा पनि राई पक्षबाट आर्टिस्ट मोक्तान, युन्छा हाग्ग मावो र समकृत पुन निर्वाचित भएका छन्। त्यस्तै सापकोटा समूहबाट तिर्सना आलेमगर विजयी भएकी छन्।
मधेसी सचिवमा पनि राई समूहकै अमर मण्डल निर्वाचित भएका छन्। खसआर्य सचिवमा भने सापकोटा समूहका जितेन्द्र भण्डारी तथा दलित सचिवमा पनि कापकोटा समूहकै आशा उपरकोटी निर्वाचित भएकी छन्।
त्यस्तै कोषाध्यक्षमा पनि हेमन्त राई प्यानलकै फुलमाया राना विजयी भएकी छन् ।
अध्यक्षको मत परिणाम अझै आइसकेको छैन ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया