Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

विपिन जोशी जुनसुकै बेला छुट्नसक्ने इजरायली अधिकारीको आश्वासन


काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीवार बन्दी साटासाटका क्रममा हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशी पनि छुट्न सक्ने सम्भावनाबारे विभिन्न अनुमान भइरहेको छ ।

तर इजरायलस्थित नेपाली राजदूतले जोशीको पछिल्लो अवस्था तथा उनी कहिले छुट्लान् भन्नेबारे नयाँ जानकारी प्राप्त हुन नसकेको बीबीसीलाई बताएका छन् ।

इजरायली अधिकारीहरूले ‘विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनु’ भनेको राजदूत धनप्रसाद पण्डितको भनाइ छ ।

सन् २०२३ को नोभेम्बरमा अल–शिफा अस्पतालको सीसीटीभी फुटेजमा देखिएका एक व्यक्ति विपिन जोशी भएको इजरेली सेनाले जनाएको थियो ।

राजदूत पण्डितका अनुसार बुधवार राति उनले इजरेली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए । त्यस क्रममा इजरेली अधिकारीहरूले बिहीवार तीन इजरेली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए ।

अब हमासको कब्जामा एक थाई र नेपाली विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुने इजरायली अधिकारीले बताएका छन् । आज विपिन जोशी छुटेनन भने शनिवार हुने अर्काे आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,’ पण्डितले बिहीवार दिउँसो भने ।

राजदुत पण्डितले इजरायली अधिकारीहरूले हमासले छाड्ने बन्धकहरूको सूचीमा विदेशी नागरिकको नाम समावेश नहुने जानकारी पनि दिए । तर आफूहरूलाई इजरायली अधिकारीहरूले ‘तयारी अवस्थामा रहनु’ भनेको पण्डितले बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट