Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो : प्रचण्ड


म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्।

माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे। अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको उनको भनाइ थियो।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ,’ उनले भने,’म अन्तरआत्माकासाथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ।’

पार्टीले के के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने उल्लेख गरे।

‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौँ। बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौँ,’ उनले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौँ।’

आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट