संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि र वन माफियाको चलखेल छ : वर्षमान पुन

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा फेल हुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश पास गर्न जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर फकाइरहेका बेला पुनको यस्तो भनाई आएको हो ।
‘भूमिहीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो’, पूर्व मन्त्रीसमेत रहेका पुनले भने, ‘तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ ।’
गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका जमिन आफू अनुकूल चलाउन अध्यादेश ल्याएर सरकारले चलखेल गरेको उनको दाबी छ । ‘अहिले गणितीय हिसाबले बहुमतजस्तो देखिए पनि सरकार कम्र्फोटेबलको स्थितिमा पनि छैन’, पुनले भने, ‘राष्ट्रिय सभामा बहुमत पुग्ने स्थिति छैन । जुन कारण अध्यादेश राष्ट्रिय सभामा फेल हुने देखिन्छ ।’
प्रधानमन्त्री ओली अध्यादेशमार्फत शासन गर्न तल्लीन रहेको भन्दै उनले संसद्को मानहानी गर्ने काम भएको बताए । यस्ता घटनाले विगतको संसद् विघटन प्रवृत्ति दोहोर्याउन सक्ने आशङ्का गर्न सकिने पुनको भनाई छ ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष माओवादी पहिलो पार्टी हो भने जसपाबाहेक सकारमा रहेका सबै दलको सिट संख्या जोड्दा पनि बहुमत नपुग्ने गणित छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया