कोटिहोमका लागि जम्मा पारिएको ५० ट्रक दाउरा पोखरा महानगरको कब्जामा
पोखरा, २३ माघ । पोखरामा दुई महिने कोटिहोम आयोजना गर्ने मानव सेवा फाउन्डेशनको योजनामा शुरुमै धक्का लागेको छ । कोटिहोमका लागि जम्मा पारेको झण्डै ५० ट्रक दाउरा पोखरा महानगरापलिकाले जफत गरेपछि फाउन्डेसन अप्ठेरोमा परेको हो ।
फाउन्डेशनले केहि महिनादेखि विभिन्न ठाउँबाट दाउरा काटेर पोखरामा थुपारेको थियो । तर, कोटिहोमको कारण वातावरण प्रदुषण हुने भन्दै महानगरले आयोजना गर्न रोक लगाएको छ ।
त्यसो त, फाउन्डेशनले कोटिहोमको लागि महानगरसँग अनुमति नलिएर नै तयारी थालेकाले अहिले आएर अप्ठेरो परेको बताइएको छ । पर्यटकहरुको अत्याधिक भीड हुने फेवाताल लेकसाइडमा कोटिहोम आयोजना गर्दा नराम्रो असर पर्ने महानगरका एक कर्मचारी बताउँछन् ।
‘प्रथमतः पर्यावरणलाई नै असर पुग्नेगरी यसरी जथाभावी रुख काटेर दाउरा बनाउनु हुँदैनथ्यो’, ती कर्मचारीले भने, ‘अनि फेवातालको त्यो डिल कोटिहोम गर्ने ठाउँ नै होइन, त्यहाँ विदेशी पर्यटकहरु आउने ठाउँ हो ।’
अघिल्लो पटक आयोजना गरिएको कोटिहोमकै कारण वायु प्रदुषण भएपछि कतिपय जहाजको उडान नै प्रभावित भएको ती कर्मचारीले सुनाए । ‘कोटिहोमको कारण धेरै समस्या भएको छ, पर्यटक मात्रै होइन, नजिक रहेको एयरपोर्टलाई समेत असर गर्छ’, उनले थपे ।
कोटिहोमको लागि फाउन्डेशले महानगरसँग अनिवार्य अनुमति लिनुपर्ने तर महानगरले चाहिँ अनुमति नदिने उनले स्पष्ट पारे । भने, ‘कुनै पनि हालतमा कोटिहोम हुँदैन ।’
क्याटेगोरी : समाचार



















प्रतिक्रिया